कैलालीको टीकापुर नगरपालिकालाई राजस्व उठाउन सकस

कैलाली– स्थानीय तहलाई राजस्व उठाउन सकस परेको छ। पालिकाहरूले अघिल्ला वर्षमा उठाउँदै आएका कर पनि उठाउन सकेका छैनन्। टीकापुर नगरपालिकाले कर्णाली नदीमा चल्ने डुङ्गा, र्‍याफ्टिङबाट राजस्व उठाउन सकेको छैन भने नगरपालिकाका भवनको भाडा उठाउन सकेको छैन । यसले ठेकेदार र नगरपालिकाको सम्पत्ति उपभोग गर्नेलाई फाइदा भएको छ। टीकापुर र बर्दियाको सिमानामा पर्ने कर्णाली नदीमा पूर्वपट्टिको गेरुवा गाउँपालिकाले ठेक्का लगाएको छ तर टीकापुरतर्फ ठेक्का लागेको छैन भने अघिल्ला वर्ष ठेक्का लागेको रकम उठेको छैन ।

ती घाटमा मानिस तरेबापत २० रुपियाँ र मोटरसाइकल तारेबापत ४० रुपियाँ डुङ्गा सञ्चालकले उठाउँदै आएका छन् । डुङ्गा सञ्चालक उत्तम सिंह नदी वारपार गर्नेको सङ्ख्या घटेकाले टीकापुरतर्फ वार्षिक सात लाख रुपियाँ तिर्न नसकिने र गेरुवाकै सरह साढे दुई लाख रुपियाँमा खुले ठेक्का लिन तयार रहेको बताए । यस्तै टीकापुर राजापुरको सिमानामा पर्ने दौलतपुर घाटमा यसअघि ११ लाख रुपियाँमा ठेक्का लागेकामा अहिले खाली छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पहिले बढाबढ हुँदा ११ लाख रुपियाँमा गएकामा अहिले हुलाकी राजमार्गमा पुल बनेपछि डुङ्गाबाट तर्नेको सङ्ख्या घटेको र रकम घटाउन बारम्बार आग्रह गर्दा पनि त्यत्तिकै चलाउनु परेको डुङ्गा सञ्चालक गौरी चौधरीले बताए । यस्तै टीकापुर पार्कपछाडि र्‍याफटिङ सञ्चालनका लागि १२ लाख र कर्णाली आइल्यान्डमा पसलहरू राख्न एक लाख रुपियाँमा ठेक्का खोलियो तर कसैले चासो नदिएपछि त्यत्तिकै चलिरहेको टीकापुर नगरपालिकाको राजस्व उपशाखाका प्रमुख नन्दबहादुर केसीले बताए।

टीकापुर नगरपालिकाले चालु वर्षमा आन्तरिक राजस्व सात करोड ५० लाख रुपियाँ उठाउने लक्ष्य राखे पनि छ महिनासम्म दुई करोड ३८ लाख रुपियाँ मात्रै उठाउन सकेको छ । तालतलैयाको नगर भजनी नगरपालिकाले पनि १५ वटा तालमा माछा ठेक्का लगाएकामा राजस्व उठाउन सकेको छैन । तालबाट उठनुपर्ने बक्यौता पाँच करोड ६९ लाख रुपियाँ पुगेको छ तर नगरपालिकाले न पैसा उठाउन सकेको छ न ताल नियन्त्रणमा लिन सकेको छ । भजनीमा २०७० देखि २०७४ सम्मको ४९ लाख ८१ हजार रुपियाँ बक्यौता पनि उठ्न बाँकी छ ।

नगरपालिकाका सूचना अधिकारी चन्द्रदेव भट्ट भने, “ठेक्का रकम नबुझाउनेलाई चिठी काटेको छ । बुझाउन आएका छैनन्, केहीलाई कालो सूचीमा राखिएको छ ।” ठेक्काबापतको रकम नउठेपछि भजनी नगरपालिकाको आन्तरिक आय खुम्चिएको छ । चालु आवमा आन्तरिक आयको वार्षिक लक्ष्य दुई करोड ७५ लाख रुपियाँ राखेकामा सात महिनाको अवधिमा एक करोड २० लाख रुपियाँ मात्रै उठेको छ।गोरखापत्र

Loading...