मन्त्री धामी, साउँद र माललाई फिर्ता बोलाउने सुदूरपश्चिम माओवादीको तयारी

धनगढी- सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र सामाजिक विकासमन्त्री झपट साउँदलाई फिर्ता बोलाउने सुदूरपश्चिम माओवादीको तयारी छ ।

साथै राज्यमन्त्री गितादेबी माललाई पनि फिर्ता बोलाउने गरी माओवादी केन्द्र आन्तरिक गृहकार्यमा जुटेको हो । माओवादीबाट प्रदेश सरकारका दुई मन्त्री र एक राज्यमन्त्री छन् । माओवादीबाट एक प्रदेश सभा सदस्यका अनुसार मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने गरी छलफल अहिले पनि जारी नै छ । उनीहरुले जन अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै मन्त्रीबाट फिर्ता बोलाउन आन्तरिक रुपमा गहन छलफल चलिरहेको ती नेताले बताएका छन् ।

माओवादीबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाउन घनिभुत रुपमा छलफल जारी छ । शुक्रबार मात्र सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र संसदीय दलको नेता परिवर्तन गरिएको छ । शुक्रबार बसेको बैठकले बहुमतबाट सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा मान बहादुर धामीलाई चयन गरेको छ ।

सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रका सभामुख सहित ११ जना प्रदेशसभा सदस्य मध्ये ६ जनाले खगराज भट्टलाई हटाएर यस अघि प्रमुख सचेतक रहेका धामीलाई दलको नेता चयन गरेका हुन् । संसदीय दलको नेता फेरिएको सूचना प्रदेश सभा सचिवालयमा बुझाएर शुक्रबार नै पद बहाली गरिएको छ ।

नेता फेर्ने बैठकमा संसदीय दलका निवर्तमान नेता खगराज भट्ट, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकासमन्त्री झपट साउँद र प्रदेशसभा सदस्य जानकी पौडेल कुँवर भने अनुपस्थित थिए । उनीहरुलाई बोलाइए पनि उपस्थित नभएको प्रदेशसभा सदस्य शिवसिंह ओलीले बताए । यस अघि संसदीय दलको नेता हटाउन माग गर्दै सुदूरपश्चिम प्रदेशसभाका बहुमत माओवादी प्रदेशसभा सदस्यहरु अध्यक्ष पुष्पकमल दाहल समक्ष पुगेका थिए ।

दलको नेता परिवर्तन सँगै सुदूरपश्चिममा माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरु समेत फेरबदल हुने भएका हुन् । हाल माओवादीबाट उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेश सिंह धामी, राज्यमन्त्री गीतादेवी माल र सामाजिक विकासमन्त्री झपट साउद छन् । धामी र साउदलाई फिर्ता बोलाइने तयारीमा माओवादी केन्द्र लागेको हो । पटकपटक सचेत गराउँदा पनि जनताका पक्षमा काम गर्न नसकेकाले शीर्ष नेतृत्वसँगको छलफलपछि यो निणर्य गरेको माओवादी केन्द्रले जनाएको छ ।

Loading...