राष्ट्रिय सभा सदस्य:सुदूरपश्चिममा ९९ प्रतिशत मतदान,गठबन्धनका तीनै उम्मेदवार विजयी

धनगढी- राष्ट्रिय सभा सदस्यका लागि सुदूरपश्चिम प्रदेशमा मतदान सम्पन्न भएको छ । सुदूरपश्चिममा ९९ प्रतिशत मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सुदूरपश्चिममा तीन सदस्यका निर्वाचन भएको हो ।

यहाँ प्रदेशका ५२ र स्थानीय तहका १ सय ७५ गरि दुई सय २७ जना मतदाता रहेका छन् । सो मध्ये दुई जना स्थानीय तहका जनप्रतिनिधि मतदानमा सहभागि नभएको मतदान केन्द्रका सहायक कर्मचारी युवराज जैशीले बताए । उनले भने, ‘दुई सय २७ मतदातामा दुई सय २५ जनामात्र भाग लिए । मतदानको समय सकिएको छ ।’

उनका अनुसार प्रदेशतर्फका सबै जनप्रतिनिधिले मतदान गरेको भएपनि स्थानीय तहका दुई जना जनप्रतिनिधि सहभागि भएनन् ।मतदानमा सहभागि नहुनेमा धनगढी नगर प्रमुख गोपाल हमाल र भजनी नगरपालिकाकी उपप्रमुख राजु तिरुवा रहेका छन् । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित तिरुवाले आफु विरामी भएका कारण मतदानमा भाग लिन नसकिएको बताइन् ।

नगर प्रमुख हमालले भने काठमाडौंका स्वतन्त्र नगर प्रमुख बालेन शाहको सिको गरेका छन् । यस अघि जिल्ला समन्वय समितिको निर्वाचनमा भाग लिएका हमालले राष्ट्रिय सभा निर्वाचनमा सहभागि नभएको जनाइएको छ । गठबन्धनको तर्फबाट अन्यबाट नेपाली कांग्रेसका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसंख्यक कलस्टरमा कांग्रेसकै नारायणदत्त भट्ट र महिला कलस्टरमा माओवादीबाट रेणु चन्द उम्मेदवार छिन् । एमालेले भने, अन्यतर्फ ईश्वरी खरेल, महिला तर्फ सावित्री घिमिरे र अपाङ्गता तर्फ रामचन्द्र जोशी उम्मेदवार छन् ।

गठबन्धनका तीनै जना उम्मेदवार विजयी ः राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित भएका छन् । महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । उनले ४ हजार ४५३ मत पाइन् । अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए । उनले ४ हजार ४१९ मत पाए । त्यस्तै अन्य तर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए । उनले ४ हजार ३४७ मत पाए ।

Loading...