धनगढीका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ सेवानिवृत्त

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले अनिवार्य अवकाश पाएका छन् । अनिवार्य अवकाश पाएका श्रेष्ठको एक समारोहका बीच धनगढी उपमहानगरपालिकाले बिदाइ गरेको छ । काठमाडौं स्थायी बसोबास भएका श्रेष्ठ सुरुमा २०७० सालमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा धनगढी आएका थिए । पहिलो पटक ३ वर्ष ४ दिन बसेका श्रेष्ठको कार्यकालमा धनगढी नगरपालिका उपमहानगरपालिकाका घोषणा भएको थियो ।

दोस्रो पटक २०७८ मा प्रमुख प्रशासकीय अधिकृतको रुपमा धनगढी आएका श्रेष्ठले तत्कालीन नगर प्रमुख नृप बहादुर वड सँग करिब ६ महिना र हालका नगर प्रमुख गोपाल हमालसँग २० महिना गरी २ वर्ष १ महिना ८ दिन धनगढीको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेका हुन् । श्रेष्ठले धनगढीको प्रमुख प्रशासकीय अधिकृत भएर आफ्नो जागिरे जीवनको ५ वर्ष १ महिना १२ दिन बिताएको बताएका छन् ।

शनिवार उपमहानगरले आयोजना गरेको बिदाइ कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, उप-प्रमुख कन्दकला कुमारी राना, वडा अध्यक्ष, सदस्य र कर्मचारीहरूको उपस्थितिमा बिदाइ गरिएको हो । उपमहानगरपालिकाले गरेको बिदाइ पश्चात श्रेष्ठले धनगढी बसेर दुई जना नगर प्रमुख र सर्वदलीय संयन्त्र रहेको अवस्थामा काम गर्न पाएको बताएका छन् ।

उनले “हाम्रो धनगढी हामी बनाउँछौँ” अभियानको एक सदस्य भएर काम गर्न पाएको खुसी व्यक्त गरेका छन् । मैले दुई नेतृत्वसँग काम गर्ने अवसर पाएँ । “हाम्रो धनगढी हामी बनाउँछौँ” भन्ने मिसनमा सहकार्य गर्न पाएँ । आधुनिक धनगढी बन्ने बाटोमा योगदान गर्न पाएँ,” उनले भने, “धनगढीले आफ्नो छवि राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय पनि बनाउन सकोस् भन्ने मेरो शुभकामना छ ।”

सेवा निवृत्त प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले नेपाल सरकार, प्रदेश सरकार, धनगढी उपमहानगरपालिकाका वर्तमान र पूर्व प्रमुख, उप-प्रमुख, अध्यक्ष र अन्य जनप्रतिनिधि, राजनीतिक दलहरू, कर्मचारी र नगरवासीलाई धन्यवाद दिएका छन् । २०३८ सालमा राष्ट्र बैँकबाट सरकारी सेवा प्रवेश गरेका श्रेष्ठ २०४७ सालमा निजामती सेवामा आएका थिए । उनले ३८ वर्ष सरकारी सेवामा रहेर काम गरेको बताए । माघ ७ गते श्रेष्ठले अनिवार्य अवकाश पाएका हुन् ।

Loading...