डडेलधुरा- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले डडेल्धुरा अस्पताल केही समयमै १ सय शय्याबाट बढाएर ३ सय शय्याको हुने बताएका छन् । आइतबार अस्पताल निरीक्षणका लागि डडेल्धुरा आइपुगेका मन्त्री बस्नेतले ३ सय शय्याको अस्पताल सञ्चालन नभए सम्म मेडिकल कलेज पूर्ण रूपमा चल्न नसक्ने भएकाले अस्पतालको क्षमता पनि बढाउँदै लैजानु पर्नेमा जोड दिएका हुन् ।
अस्पताल र मिडिकल कलेज एक अर्काका परिपूरक भएको बताउँदै दुबैलाई साथ साथै लैजान सकेमात्र जनताले चाहेको स्वास्थ्य सेवा र चिकित्सा शास्त्रको पढाई अगाडि बढ्ने बताए । डडेल्धुरा अस्पतालले ३ सय शय्यामा सञ्चालन गर्न नयाँ भवन बनाइ रहेको छ ।
मन्त्री बस्नेतले अस्पतालको स्तर उन्नतिका लागि स्वास्थ्य मन्त्रालयले कुनै कसर बाकी नराख्ने बताए । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले अस्पतालमा कार्यरत जनशक्तिलाई मेडिकल कलेजले पनि काममा लगाउनु पर्ने आवश्यकता रहेकोमा जोड दिए । उनले एमबीबीएसको पढाई सुरु गर्नु भन्दा नर्स र पारामेडिक्सको पढाई सुरु गर्न सल्लाह दिए ।
डडेल्धुरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकर ओझाले जनशक्ति थप्ने कार्यमा सरकारले सहयोग गर्नु पर्ने बताए । मन्त्री बस्नेतले अस्पतालका निर्माणाधीन भवन, क्वाटर लगायतको निरीक्षण र अवलोकन गरेका थिए ।