धनगढी- बस दुर्घटनामा धनगढी जुगेडाकी एक उसु खेलाडीको मृत्यु भएको छ । हेटौडा स्थित मकवानपुरमा आयोजित अन्तर प्रदेश स्तरीय उसु प्रतियोगितामा सहभागी भएर धनगढी फर्किने क्रममा धनगढी १२ जुगेडाकी १८ वर्षीया निता खड्काको मृत्यु भएको हो ।
कपिलवस्तुको चन्द्रौटाबाट करीव १५ किमी पश्चिमस्थित चोरखोलामा राति एक बजे उसु खेलाडीहरु चढेको सुप यातायात सुप यातायातको ३३९२ नम्बरको बसलाई ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाईते भएकी खड्कालाई उपचारका लागि तत्काल बुटवलस्थित लुम्बिनी प्रदेश अस्पताल लगिएको थियो ।
जहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । यस्तै दुर्घटनामा १२ जना घाईते भएका छन् । बसमा सवार अन्य खेलाडीहरु पुष्पा कुँवर, सपना तामाङ्ग, सृजना विसी, मुकेश कार्की,अस्मिता गाहामगर, अभी महतो, हरिचन्द्र कार्की, दिपक चौधरी र ज्ञानु विक तथा निणर्ायकहरु खुशीराम चौधरी, राजीव गुप्ता र एलिसा खाती घाइते भई उपचाररत रहेका छन् ।
मकवानपुर जिल्ला उसु सङ्घ हेटौडाका सचिव विश्वनाथ पाठकले धनगढीबाट गएको ट्रक र संघै पछाडिबाट आइरहेको ट्रकले ओभरटेक गर्दा विपरीत दिशाबाट आइरहेको बस दुर्घटनामा परेको बताए । साथै उनलेले सो घटनाप्रति दुख व्यक्त गरेका छन् ।
कैलाली जिल्ला खेलकुद बिकास समितीका उसु खेदकुद सहायक प्रशिक्षक रतन खातीले सांधुरोबाटो भएकाले ओभरटेक गर्दा बस दुर्घटनामा परेको बताए । बस पल्टीदा बिद्यार्थी खसेकाले च्यापिएर मृत्यु भएको उनले बताए । बसमा उसु खेलाडी ३४ जना र अन्य ८ जना सवार रहेका थिए । हेटौडामा सम्पन्न अन्तर प्रदेश उसु प्रतियोगितामा खड्काले स्वणर् पदक जितेकी थिइन् ।
खड्काको मृत्युको खवरपछि परिवारका सदस्य बुटवल गएका छन् । उनको शव लुम्बिनी अस्पतालको शव गृहमा राखिएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् सदस्य सचिव दिपक बहादुर सिंहले दुर्घटनामा निधन भएका मृतक खेलाडीप्रति श्रद्धाञ्जली र घाइतेको शिघ्रस्वास्थ्य लाभको कामना ब्यक्त गरेका छन् ।