धनगढी- राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय कृषि गणना २०७८ को सुदूरपश्चिम प्रदेश स्तरीय नतिजा सार्वजनिक गरेको छ । शुक्रबार धनगढीमा आयोजित नतिजा सार्वजनिक कार्यक्रममा कृषि गणना २०७८ अनुसार सुदूरपश्चिममा ४ लाख ५७ हजार ७ सय ५६ कृषक परिवारले १ लाख ९२ हजार ८ सय ८५ हेक्टरमा कृषि कार्य गरेको जानकारी दिइएको हो ।
नेपालमा कुल सिंचित क्षेत्रफल ५४ दशमलब ५ प्रतिशत देखिएकोमा सुदूरपश्चिममा ६० प्रतिशत सिँचाइ सुविधा उपलब्ध भएको जनाएको छ । नेपालमा सिंचाई सुविधा लिएका परिवार ७० प्रतिशत देखिएकोमा सुदूरपश्चिममा ७६ प्रतिशत परिवारले सो सुविधा पाएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक बद्री कुमार कार्कीले बताए ।
सुदूरपश्चिममा धान १ लाख ८ हजार ८ सय, मकै २३ हजार ७३ र गहुँ १ लाख ४ हजार ५ सय ७३ हेक्टर क्षेत्रफलमा गरिँर्दै आएको तथ्यांकमा उल्लेख गरिएको छ । यस्तै सुदूरपश्चिममा आँप ३००, केरा ७०५, सुन्तला ३९३, कागती १८१ र स्याउ १३९ हेक्टरमा गरिएको जनाइएको छ ।
सार्बजनिक तथ्यांक अनुसार पछिल्लो समयमा सुदूरपश्चिममा कृषि कार्यका लागि ट्रयाक्टर, पावरट्रिलर प्रयोग गर्ने किसानको संख्या बढ्दै गएको छ भने कृषि ऋण लिने, कृषि बीमा गराउने र सरकारी अनुदान लिने किसानको संख्या न्यून रहेको छ ।
सुदूरपश्चिममा मुख्य कृषकमा पुरुष र महिलाको प्रतिशत क्रमशः ६१.८ र ३८.२ रहेको छ भने वर्षभरी खान पुग्ने बताउने कृषकको प्रतिशत ४०.१ रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।
उक्त सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले तराईका कैलाली र कञ्चनपुरमा बसाईसराईका कारण खेती योग्य जमिन घट्दै गएको बताए । उनले खेती योग्य जमिन घट्न नदिन एकीकृत बस्ती विकासको अवधारणा ल्याउन जरुरी रहेको बताए ।
सार्बजनिक तथ्यांकलाई आधार मानेर प्रदेश सरकार कृषिलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनको भनाइ थियो । उक्त सार्वजनिक कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम रायले कृषि क्षेत्रमा सुधार गर्ने योजना तर्जुमा गर्न राष्ट्रिय कृषि गणना २०७८ को नतिजा फलदायी हुने बताए । उनले कृषि क्षेत्रमा लगानी गरेर उत्पादन बढाउने तर्फ लाग्नुपर्ने बताए ।