काठमाण्डौ- बिहान बेलुका मौसम धुम्म भइरहे पनि तत्काललाई वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । पछिल्ला दिनमा बिहान बेलुका मौसम धुम्मिरहेको छ भने दिउँसो घाम–बादल भइरहेको छ ।
दिउँसो केहीबेर घाम लाग्ने र केहीबेर बादल लाग्ने भइरहेको हो । मौसम पूर्णरुपमा खुलेको छैन । आज, भोलि र पर्सिको मौसम पनि यस्तै रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उनका अनुसार अहिले देशका धेरै ठाउँमा हिजोअस्तिको जस्तै गरी हुस्सुकुहिरो लागेको छ ।
पहाडी क्षेत्रमा लागेको हुस्सुकुहिरो केहीबेरमा हटेर घाम लाग्ने सम्भावना छ । तर, तराईका जिल्लामा भने दिउँसोपछि मात्रै हुस्सुकुहिरो हट्ने अनुमान छ । नेपालमा अहिले पश्चिमी वायुको प्रभाव रहेको छ । यसकै कारण मौसम बदली भइरहेको छ । मौसम बदली भइरहे पनि तत्काललाई पानी पर्ने सम्भावना नरहेको मौसमविद् कँडेलले बताए ।