धनगढी- कैलालीको धनगढीमा सुदूरपश्चिम महोत्सवको तयारी सुरु भएको छ । कैलाली उद्योग वाणिज्य संघले मंसिर २२ गते देखि पुस २ गते सम्म धनगढीमा सुदूरपश्चिम महोत्सवको आयोजना गर्ने भएको हो । महोत्सवको तयारीका लागि कैलाली उद्योग वाणिज्य संघले ३० वटा उपसमिति गठन गरेर महोत्सवको तयारी सुरु गरेको हो ।




धनगढी उपमहानगरपालिका-१ पशुपति टोलमा आयोजना हुने महोत्सवको तयारी सुरु गरिएको छ । अहिले महोत्सव स्थललाई जस्ता पताले घेरबार गर्ने काम हुँदैछ ।


महोत्सवका संयोजक समेत रहेका कैलाली उद्योग वाणिज्य संघ अध्यक्ष पुष्पराज कुँवर शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको तयारी थालिएको बताए । उनले चार सय स्टल रहने महोत्सवबाट १० करोडको कारोबार हुने बताएका छन् । ५ लाखले महोत्सवको अवलोकन गर्ने दाबी कैलाली उद्योग वाणिज्य संघको छ ।
१७ औँ संस्करणको सुदूरपश्चिम महोत्सवमा समेत विद्यार्थीबाट ५० रुपैयाँ र अन्य नागरिकबाट एक सय रुपैयाँ प्रति व्यक्ति टिकटको शुल्क निर्धारण गरिएको छ ।




