बैतडी– बैतडीमा एक घरमा आगलागी भएको छ । जिल्लापुर्चौंडी नगरपालिका वडा नं १ डाँडाकोटस्थित जयानन्द जोशीको घरमा आइतबार राति साढे ९ बजेतिर आगलागी भएको हो । लक्ष्मीपूजाको राति जोशीको दुई तले आठकोठे कच्ची घरमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।



जोशीमा घरमा लागेको आगो एकघण्टापछि राति साढे दश बजे नियन्त्रणमा लिइएको थियो । स्थानीयबासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । आगलागीबाट जोशीको घरभित्र रहेको अन्नपात, लत्ताकपडा र अन्य घरायसी सामग्री जलेर नष्ट भएका छन् ।


सबैले मिलेर आगलागी नियन्त्रणमा लिएकाले मानवीय र पशुचौपायामा क्षति हुन नपाएको प्रहरी निरीक्षक केसीले बताए । आगलागीबाट भएको क्षतिको एकीन विवरण भने आउन बाँकी रहेको छ । आगलागीको कारण खुल्न नसकेको र घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।





