बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मा भएको जिप दुर्घटनामा परी सख्त घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा छबिसपाथिभेरा गाउँपालिका–७ बुड्खोरीका इनार महत रहेका छन् ।


उनको टाउको र कम्मरमा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते भएर जिल्ला अस्पताल सिमखेत ल्याइएका उनको उपचारका मृत्यु भएको अस्पतालले जनाएको छ ।

भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप शुक्रबार बिहान १०:३० बजे छबिसपाथिभेरा–७ खोरीमा दुर्घटना हुँदा ६ जना घाइते भएका थिए ।
घाइतेमध्ये करिब २५ वर्षीय महतको मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ । जिपमा चालक विनोद धामीसहित ९ जना सवार उक्त जिप ब्रेक फेल भएर खोरी र नौराको बीच सडकमा दुर्घटना भएको बिसौना प्रहरीले जनाएको छ ।
बाँकी दुर्घटनामा घाइते भएका छबिसपाथिभेरा गाउँपालिका७ बुड्खोरीका पाँच जना रामबहादुर धामी, अशोक धामी, सन्तोष धामी, प्रकाश धामी र मिलन धामी जिल्ला अस्पतालमा उपचाररत छन् । जिप चालक र अन्य दुई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।