सुदूरपश्चिममा मासु, दूध र अण्डा अपुग

धनगढी– सुदूरपश्चिम प्रदेशमा वार्षिक रूपमा मासु, दूध र अण्डा अपुग रहेको प्रदेश पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूध आवश्यक रहेकोमा प्रदेशमा ८०.७२ लिटर उपलब्ध छ भने प्रतिव्यक्ति वार्षिक १४ किलो मासु आवश्यक रहेकोमा १०.६८ किलो उपलब्ध छ ।

त्यसैगरी, प्रतिव्यक्ति वार्षिक ४८ गोटा अण्डा आवश्यक रहेकोमा ३० गोटा उपलब्ध छ । सुदूरपश्चिममा गत आर्थिक वर्ष २०७९/०८० मा दुई लाख ४४ हजार टन दूध, ३१ हजार ९० टन मासु र ९१ लाख गोटा अण्डा उत्पादन भएको निर्देशनालयले जनाएको छ । राष्ट्रिय उत्पादनमा सुदूरपश्चिमको योगदान दूधमा ११.२, मासुमा नौ र अण्डामा ६ प्रतिशत छ । प्रदेशमा आवश्यक दूध, मासु, अण्डा आयात गरी आवश्यकता पूर्ति भइरहेको निर्देशनालयले जनाएको छ ।

Navadurga sun

स्थापना भएदेखि प्रदेश सरकारले दुध, मासु, अण्डा, माछा, दलहन, फलफूल, खाद्यान्न बिउ, तरकारी, आलु, प्याज उत्पादनमा पाँच वर्षभित्रै आत्मनिर्भर प्रदेश बनाउने नीति लिए पनि सो लक्ष्य पूरा हुन सकेको छैन । सो नीति लिन थालेको छैठौं वर्षको नीति तथा कार्यक्रममा पनि प्रदेश सरकारले सो वस्तुमा उत्पादनमा पाँच वर्षभित्र आत्मनिर्भर प्रदेश बनाउने लक्ष्य लिएको छ । नीति तथा कार्यक्रममा नीति लिइने भनिए पनि बजेट र कार्यक्रम प्रभावकारी रूपमा विनियोजन र कार्यान्वयन नहुँदा उत्पादन वृद्धिदर सुस्त गतिमा छ ।

प्रदेश पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी पुस्कर नाथले अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा दूध, मासु, अण्डाको उत्पादन बढेको बताए । उनले लम्पी स्किनका कारण दूध उत्पादनमा केही बाधा परे पनि उत्पादन वृद्धि भएको बताए । उनले उपलब्ध गराएको तथ्यांकअनुसार प्रदेशमा दुधालु गाई एक लाख ४३ हजार छन् भने दुधालु भैंसी एक लाख ४४ हजार छन् । उनले गाईको दूध एक लाख तीन हजार टन र भैंसीको दूध एक लाख ४१ हजार टन उत्पादन भएको बताए । प्रदेशमा गाईको संख्या घटेको छ ।

०७७/०७८ बाट ०७९/०८० मा आउँदा १६ हजारले गाईको संख्या घटेको निर्देशनालयले जनाएको छ । सो अवधिमा भैंसीको संख्या पाँच हजार ४०१, भेडाको संख्या दुई हजार ४२९, बाख्रा एक हजार ७१०, बंगुर, तीन हजार ३१२, कुखुरा दुई हजार २४२ र हाँस १८२ ले बढेको निर्देशनालयको तथ्यांक हो । दुई वर्ष लगाएर यो संख्यामा वृद्धि हुँदा पशुपंक्षी पालन वृद्धिदर निकै कम देखिन्छ । सुदूरपश्चिम प्रदेश सरकारले दूध, मासु र अण्डा उत्पादनमा आत्मनिर्भर विशेष कार्यक्रम सञ्चालन गर्ने नीति लिएको भए पनि सोसम्बन्धी कार्यक्रम केन्द्रित गरिएको छैन ।

‘कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश अभियान’ सञ्चालन गरी आगामी पाँच वर्षभित्र दलहन, मसलाबाली र फलफूलमा आन्मनिर्भर हुने नीति लिइनेछ,’ आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा भनिएको छ, ‘तरकारी, आलु, खाद्यान्न बिउ, केरा, दूध, मासु र अण्डामा आत्मनिर्भर हुने विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।’ बजेटमा समेत कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश अभियान सञ्चालन गर्ने पर्याप्त बजेट व्यवस्था गरेको उल्लेख छ ।

तर रातो किताबमा दूध, मासु र अण्डा उत्पादनका कार्यक्रममा पाँचदेखि २० लाख रुपैयाँसम्मको टुक्रे योजनामात्रै समेटिएका छन् । नौं वटै जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुपंक्षी पालनका लागि गर्ने कार्यक्रममा विगतको भन्दा बजेट घटेको देखिन्छ । ती कार्यक्रममा बाख्रा, भैंसी, कुखुरा, कालिजपालन फार्म स्थापना तथा सञ्चालनसम्बन्धी अनुदान समेटिएका छन् ।

गत आर्थिक वर्षमा कृषि, वन तथा मत्स्यपालन शीर्षकमा १० अर्ब २३ करोड १२ लाख रुपैयाँ विनियोजन भएकोमा चालु आर्थिक वर्षमा ६ अर्ब ८१ करोड ९१ लाखमात्रै विनियोजन गरिएको छ । प्रदेश सरकारले पशुपंक्षीजन्य उत्पादनमा आत्मनिर्भर प्रदेश बनाउने नीति लिएको भए पनि सो क्षेत्रमा बजेट विनियोजन घट्दै गएको छ । बजेट विनियोजनमा प्राथमिकतामा नपरेको दूध, मासु र अण्डा उत्पादन क्षेत्रको खर्च गर्ने दरसमेत कमजोर छ ।

निर्देशनालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १७ करोड ७३ लाख रुपैयाँ विनियोजन भएकोमा ९१ प्रतिशत खर्च भएको थियो । निर्देशनालयको सूचना अधिकारी पुस्कर नाथले आर्थिक वर्ष २०७८/०७९ मा १४ करोड ७२ लाख रुपैयाँ विनियोजन भएकोमा ३९ प्रतिशतमात्रै खर्च भएको बताए । उनले उपलब्ध गराएको तथ्यांकमा २०७७/०७८ मा २० करोड ४४ लाख विनियोजन भएकोमा ७९ प्रतिशत र २०७६र०७७ मा २२ करोड ५२ लाख रुपैयाँ विनियोजन भएकोमा ५७ प्रतिशत खर्च भएको देखिन्छ । कारोबारबाट

ADD Khali jpg
ADD Khali jpg
Loading...