कञ्चनपुर- महाकाली नदीमा बाढी आएपछि चार पांग्रे सवारीसाधनका लागि बन्द रहेको शारदा ब्यारेजको पुल बुधबार तेस्रो दिन खुलेको छ । नदीको जलस्तर घटेपछि बुधबारदेखि चार पांग्रे सवारीसाधनलाई आवागमन गर्न खुला गरिएको हो ।
सोमबार बिहानैदेखि नदीमा बहाव बढेपछि सवारी आवागमनमा रोक लगाइएको थियो । उक्त दिन महाकालीको जलस्तर १ लाख ९६ हजार क्युसेक पुगेको थियो । मंगलबार घटेर १ लाख ५ हजार क्युसेक भएको थियो । बुधबार भने बिहान १ लाख क्युसेकभन्दा तल आएपछि पुलमा आवागमन खुला गरिएको हो ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार बुधबार दिउँसोको मापनअनुसार पानीको बहाव ८८ हजार ५६२ क्युसेक छ । जलस्तर घटने क्रममा छ ।
शारदा ब्यारेजको पुल दुई पांग्रे साधन र पैदल यात्रुका लागि २४ घण्टा नै खुला रहन्छ । तर चार पांग्रे सवारीका लागि भने दिनमा ४ पटक गरि ७ घण्टामात्रै खुला हुन्छ । बिहान ६-८, १०-१२, दिउँसो २-४ र साँझ ६ देखि ८ बजेसम्म मात्रै पुल खुला रहन्छ ।
लामो समय पुल बन्द हुँदा महेन्द्रनगरबाट भारतको राजधानी दिल्ली र उत्तराखण्डका हरिद्वार तथा देहरादुन लगायतका क्षेत्रमा सञ्चालन हुने मैत्री बस सेवा पनि प्रभावित हुन पुगेको छ । यसैगरी भारतबाट आयात हुने मालसामन पनि नेपालगन्ज वा धनगढी नाका भएर आउने गरेको छ ।
