

दार्चुला- वर्षायामको सुरुवातसँगै जिल्ला सदरमुकाम जोड्ने अधिकांश ग्रामीण सडकहरु पहिरोका कारण अवरुद्ध भएका छन् । जिल्लाको मुख्य महाकाली लोकमार्ग सानो झरीमै दुई साताको अवधिमा दुई पटक अवरुद्ध भयो । अन्य ग्रामीण सडकहरु पनि असार सुरुदेखि अवरुद्ध छन् ।


महाकाली लोकमार्गको महाकाली नगरपालिका–८ सकार र मंगलबार पनेबाजदेखि ऐरिछानासम्मको सडक खण्डमा पहिरो खस्दा सडक अवरुद्ध भयो । दार्चुला–टिंंकर सडक दुई दिनदेखि अवरुद्ध छ । खलंगा–दल्लेक सडक ५ दिनयता अवरुद्ध अवस्थामै रहेको स्थानीय महेशराज भट्टले बताए ।


सडक माथिबाट ढुंगा खसिरहेकै अवस्थामा दैनिक सदरमुकामका विद्यालयमा आउजाउ गर्ने विद्यार्थी, स्थानीय किसानहरू जोखिम मोलेर आवतजावत गर्न बाध्य रहेको भट्टले बताए ।
एक सातायता सदरमुकामदेखि नौगाडको दल्लेखसम्मको सडकमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । मालबेला, डुङरी, काटै, सेलाभन्दा माथि दल्लेखको तलतिर पूरै सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध स्थानीयवासीले सास्ती खेपिरहेका बेला पहिरो पन्छाउन पालिका बेखवर भएपछि त्यहाँका सर्वसाधारणले आक्रोश पोखेका छन् । स्थानीयहरू जोखिम मोलेर भए पनि पिठ्युँमा भारी बोकेर सदरमुकाम आवतजावत गरिरहेका छन् ।
त्यस्तै सदरमुकामबाट दुहु र ब्यास गाउँपालिका जोड्ने टिंकर सडक खण्डको राताकाठा क्षेत्रमा सडक अवरुद्ध भएको छ । दुई दिनदेखि अवरुद्ध रहेको सडक मंगलबार अवेर ठेकेदारले सञ्चालन गराएको स्थानीय पदमसिंह बडालले बताए ।
दुहु गाउँपालिका–५ चल्यागाडासम्म यात्रुवाहक जिप जाने र त्यसमाथि ट्याक्टर मात्र सञ्चालनमा रहेकोमा सुरुको वर्षामै सडक अवरुद्ध भएको स्थानीय प्रेमसिंह धामीले बताए ।
सदरमुकामदेखि गरमोरा, हिकिला, पिपलचौरी र पन्तोलीखोला क्षेत्रमा पनि सडक अवरुद्ध हुँदै आएको छ । यी क्षेत्रमा माथिबाट पहिरो खस्ने र सडक धसिने हुँदा सानो वर्षामै सडक अवरुद्ध हुने अवस्था रहेको स्थानीयहरू बताउँछन् । सडक अवरुद्ध भएपछि खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या उत्पन्न भएको धामीले बताए ।
सदरमुकाम महाकाली नगरपालिकाको अन्तरपालिका जोड्ने खलंगा–दल्लेक सडक खण्डमा भने पहिरो पन्छाउने काम सुरु गरिएको महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रप्रसाद घिमिरेले बताए ।
मंगलबार बिहानैदेखि सडक डिभिजन कार्यालय पाटन बैतडीले पहिरो पन्छाउने काम गरेपछि लोकमार्ग पुनस्सञ्चालन गरिए पनि खलंगा–दल्लेक र टिंकर सडक भने अवरुद्ध अवस्थामै छ । कान्तिपुरबाट