बैतडी- लगातारको वर्षाले बैतडीको पाटन नगरपालिका वडा नं ९ मा रहेको सिद्धेश्वर मावि हुक्केडाँडाको विद्यालयमा क्षति पुगेको छ। विद्यालयको खेलमैदान र पर्खाल पहिरोले लगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए।


वर्षाका कारण विद्यालयको तीनकोठे भवन उच्च जोखिममा रहेको भाटले बताए। उनले भने, ‘विद्यालय भवनको आँगनबाटै पहिरो गएको छ। भवन उच्च जोखिममा रहेकाले भवन भत्किने अवस्थामा पुगेको छ।’


विद्यालय भवन पहिरोको जोखिममा परेपछि पठनपाठन प्रभावित भएको भाटले बताए। उनले भने, ‘विद्यालय भवन उच्च जोखिममा रहकाले बालबालिका डरैडरले पढिरहेका छन्। विद्यालय बन्द गर्यो भने पढाइमा बाधा पुग्ने भएकाले बन्द गरेका छैनौं।’

विद्यालय भवन जोखिममा परेको भन्दै विद्यालय परिवारले आवश्यक सहयोगका लागि सरोकारवाला निकायलाई अनुरोध गरेको छ। विसं। २०१८ सालमा स्थापित यो विद्यालयमा कक्षा १० सम्म पढाइ हुने गरेको छ। यहाँ २५२ जना विद्यार्थी अध्ययनरत छन्।
यसैबीच पहिरोका कारण बैतडीको सिगास गाउँपालिका–८ स्थित लेक लुपुड माविको भवनमा क्षति पुर्याउनुका साथै उच्च जोखिममा परेको छ। विद्यालय भवनको तल र माथि दुवैतिरबाट पहिरो खसेपछि विद्यालय भवनमा क्षति पुगेको र उच्च जोखिममा रहेको प्रधानाध्यापक हर्कबहादुर धामीले जानकारी दिए।
उनले भने, ‘विद्यालयका दुईवटा भवनका नौ कोठा रहेका र तीमध्ये पहिरोले दुबै भवनका गरी चारकोठामा क्षति पुर्याएको छ। बाँकी रहेको भवन र खाजा खाने क्यान्टिन पनि जोखिममा छ।’
चारकोठे नयाँ भवन संघीय अनुदानमा ७२ लाखमा निर्माण भएको र उक्त भवन हस्तान्तरण नहुँदै पहिरोले भत्किने सम्भावना रहेको उनको कथन छ।
कक्षा १२ सम्मको पढाइ हुने यो विद्यालयमा ३५० विद्यार्थी अध्ययनरत छन्। मनसुनी वर्षा शुरु भएसँगै पहिरोका कारण सडक, विद्यालय लगायतका संरचनामा क्षति पुग्न थालेको छ।