कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ८८ करोड रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाले नगरका गौरवका आयोजनालाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८०/८१ का लागि ८८ करोड ७ लाख ९६ हजार विनियोजन गरेको छ ।


बिहीवार नगरपालिकाले १४औं नगर सभाबाट बजेट पारित गरेको हो । नगरपालिकाले नगर गौरवका योजनालाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ ।



नगरपालिकाले कोल्ड स्टोर निर्माणका लागि ४ लाख, नगरस्तरीय कभर्ड हल निर्माणका लागि ९० लाख, बसपार्क निर्माणका लागि ४ लाख, नगर चक्रपथ निर्माणका लागि १ करोड ४० लाख, वडा नम्बर २ स्थित निर्माणाधीन खानेपानी योजनाका लागि १ करोड १४ लाख र सेफहाउस सञ्चालनका लागि २ लाख बजेट विनियोजन गरेको छ ।
एमबीबीएस अध्ययनरत विद्यार्थीको छात्रवृत्ति लागि ५ लाख बजेट विनियोजन गरिएको छ । नगर प्रमुख रणबहादुर महराले नगरपालिकाले नगर गौरवका योजना प्राथमिकतामा राखेर आगामी वर्षको बजेट ल्याएको बताए ।
‘बजेटमा नगर गौरवका योजना प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘नगरपालिकाको आन्तरिक आय कम छ, संघबाट आउने रकम घटेर आएको छ ।’ उनले यसपटक बजेट कार्यान्वयनमा नगरपालिकाले जोड दिएको बताए ।
नगरको चालू आर्थिक वर्षको जम्मा आय ७१ करोड ९९ लाख ५६ हजारमध्ये जेठ मसान्तसम्म चालू खर्चतर्फ ३० करोड २४ लाख र पुँजीगत खर्चतर्फ ९ करोड तीन लाख रहेको छ । नगरपालिकाले आगामी आव २०८०र८१ मा चालू र पुँजीगत खर्च गरी जम्मा ८८ करोड ८ लाख व्यय हुने अनुमान गरेकोे छ ।