भारतीय बजारबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्ने

काठमाडौं– सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर नेपाल भित्र्याइने सामानमा नेपाल सरकारले भन्सार लगाउने भएको छ। परिस्कृत नयाँ भन्सारको यात्रु सम्बन्ध सुविधाको नियमसँगै अब भारतीय बजारमा नेपालीले किनमेल गर्दा एक सय रुपैयाँभन्दा बढी मूल्यको वस्तुमा भन्सार लाग्नेछ।

भैरहवा भन्सार कार्यालयले जारी गरेको सूचनामा ‘रु एक सयभन्दा बढी मूल्यको मालसामान लिएर भारतको स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले आफ्नो साथमा ल्याएको मालसामानको यस भैरहवा भन्सार कार्यालयको यात्रु शाखामा अनिवार्य घोषणा गरी जाँचपास गराएर मात्र लैजान सूचित गराइन्छ’ उल्लेख गरिएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

अन्यथा जाँचपास नगराई लगिएको मालसामान भन्सार परिसर भन्दा बाहिर पाइएमा भन्सार ऐन २०६४ बमोजिम चोरी पैठारी कसुरमा कारबाही हुने सूचनामा जनाइएको छ।

यसअघि सीमा क्षेत्रका भारतीय बजारमा गरिने किनमेलमा भन्सार अनिवार्य थिएन। यस्तो नियमले सीमा क्षेत्रका नेपाली बजारलाई राहत मिल्ने भन्सार विभागको दाबी छ। भारतीय बजारबाट बिनाभन्सार सामान भित्र्याउँदा स्वदेशी बजार र राजश्व लक्ष्यसमेत घट्दै गएको अवस्थामा उद्योगी व्यवसायीको समेत माग पूरा गर्दै भन्सार नाकामा कडाइ थालिएको हो।

सीमावर्ती बजारमा हुने अवैध कारोबारलाई निरुत्साहित गर्न रूपन्देहीको बेलहिया नाकामा १०० रूपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार तिराउन थालिएको छ। यो प्रक्रियाले यताका उद्योगी व्यवसायी खुसी भए पनि उपभोक्ताले यो कार्य गलत भएको बताएका छन्।

Loading...