धनगढी- गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै धनगढीमा विद्यार्थीले जुलुस निकालेका छन् । मङ्गलवार बिहान एसपिए कलेजका विद्यार्थीले विश्वविद्यालय स्थापना गर्न दबाब स्वरुप धनगढीमा जुलुस निकालेका हुन् ।

गेटामा विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिको आह्वानमा धनगढीको एसपिए कलेजबाट निकालिएको जुलुस ट्राफिक चौराहामा पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसमा धनगढीका अन्य कलेजका विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो ।
कोणसभामा बोल्दै विद्यार्थीहरूले गेटामा विश्वविद्यालय स्थापना गर्न सरकारलाई आग्रह गरेका छन् । उनीहरूले स्वास्थ्य शिक्षा र उपचारमा सुदूरपश्चिमवासीको पहुँच बढाउन गेटामा विश्वविद्यालय स्थापना गरिनुपर्ने बताए ।