असिनापानीले दुई करोड बराबरको अन्न र तरकारी बाली सखाप

बाजुरा- जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा गत बुधबार दिउँसो आएको असिनापानीले दुई करोड रुपैयाँभन्दा बढीअन्नबाली, तरकारी र फलफूलमा क्षति पुर्‍याएको छ ।

खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ६ र ७ का करिब सात हजार रोपनी जग्गाको अन्न, तरकारी र फलफूल खेतीमा क्षति पुगेको असिनापीडित किसानले बताएका छन्। गाउँपालिका–७ का वडाध्यक्ष खगेन्द्र रावतले दुई वडाका ९०५ परिवारले लगाएको अन्नबाली, तरकारी र फलफूल खेतीमा करिब दुई करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरेको जानकारी दिए।

Navadurga sun
Godawari sandesh

हिउँदे बाली भित्र्याउन नपाउँदै आएको असिनापानीले खेतबारीमै गहुँ, जौ सखाप पारेपछि किसानहरू चिन्तित छन्। कम उत्पादन हुने र हिउँदभरि दुःख गरेर लगाएको खेती असिनापानीले सखाप पारेपछि बालबच्चा कसरी पाल्ने भन्ने चिन्ता बढेको खप्तड छेडेदह गाउँपालिका–७ बुढाबाडाकी भीम्ला बुढाले दुःखेसो पोखे। ‘असिनापानीले गहुँ, जौ, तरकारीमा आलु प्याज, लसुन र फलफूलमा क्षति पुग्यो।’

असिनाबाट पीडित बनेका किसानले बिहान खेतबारी गएर टुलुटुलु पाकेको गहुँ र जौ हेर्नुबाहेकको विकल्प नरहेको ओलीका कृषक बिर्ख ओलीले बताए। उनले पीडित किसानलाई राहतभन्दा पनि क्षतिपूर्ति दिनुपर्ने तर्क गरे।

Dadeldhura hospital

असिनापानीले वडा नं ६ को मैतोला, नाइना र सुदाडामा अन्न बाली, तरकारी र फलफूल खेतीमा क्षति पुर्याएको छ भने वडा नं ७ को बुढाबाडा, लम्गाउँ, गुम्लागाउँ, कठायतबाडा, ओलीगाउँ र दानीगाउँमा नोक्सानी गरेको वडाध्यक्ष रावतले बताए।

क्षतिको विवरण संकलनमा सुरसार छैन

असिनापानीले खप्तड छेडेदह–६ र ७ वडाका किसानले खेतबारीमा लगाएको अन्न, तरकारी र फलफूल खेतीमा क्षति पुर्याएको भए पनि स्थानीय सरकार पालिका र कृषि ज्ञान केन्द्र बाजुराले विवरण संकलन नगरेको पीडित गुनासो किसानले गरेका छन्।

असिनापानीले वडा नं ६ का ३८० र ७ का ५२५ परिवार गरी ९०५ परिवार प्रभावित भए पनि गाउँपालिकाले क्षतिको विवरण संकलनमा चासो नदेखाएको पीडित कृषक गौरी ओलीको भनाइ छ।

क्षतिको विवरण संकलनका गर्न पालिका र कृषि ज्ञान केन्द्र बाजुराले चासो नदेखाएपछि क्षतिपूर्ति नपाउने चिन्ता कृषकमा परेको छ। असिनापानीबाट प्रभावित बनेका किसानको क्षतिको विवरण संकलनका लागि गाउँपालिका र कृषि ज्ञान केन्द्र बाजुरालाई आग्रह गरेको भए पनि कुनै चासो नदेखाएर बेवास्ता गरेको वडाध्यक्ष रावतले बताए।

 

 

Loading...