

धनगढी- कैलालीमा मदिराजन्य पदार्थको प्रचार सामग्री हटाउन थालिएको छ । बिहीवारबाट धनगढीका होटेल, पसल र रेष्टुरेन्टमा राखिएका होर्डिङ, पोष्टर र अन्य प्रचारप्रसारका सामग्री हटाउन थालिएको हो ।



प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुर, जिल्ला प्रशासन कार्यालय कैलाली, उपभोक्ता हित संरक्षणमा काम गर्ने संस्थाका प्रतिनिधि, जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधि सम्मीलित टोलीले धनगढीबाट सुर्तीजन्य र मदिराजन्य पदार्थको प्रचारप्रसारका सामग्री हटाउन थालेको हो ।


यसअघि बैशाख १४ गते जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारी युवराज कटेलको अध्यक्षतामा बसेको बैठकले एक हप्ताभित्र सुर्तीजन्य र मदिराजन्य पदार्थको प्रचारप्रसारका सम्पूर्ण सामग्री आफैं हटाउन सार्वजनिक सूचना र पत्राचार गरेको थियो ।
तर सार्वजनिक सूचना र पत्राचार गर्दा पनि प्रचार सामग्री नहटाइएपछि बिहीबारबाट सरकारी टोलीले आफैं हटाउन सुरु गरेको प्रदेश स्वास्थ्य प्रवद्र्धन केन्द्र कञ्चनपुरका प्रमुख हेमराज खड्काले बताए ।