महिला हिंसाको अवस्था विकराल बन्दै, हिंसामा परेका १८१ महिलाको उद्धार

बैतडी- बैतडीमा महिला हिंसाको अवस्था विकराल बन्दै गएको छ । एक तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको २०७९ साउनदेखि २०८० वैशाखसम्म प्रहरीमा ३० वटा उजुरी परेका छन् । हिंसामा परेका १८१ महिलाको उद्धार गरिएको छ ।

महिला हिंसाविरुद्ध राष्ट्रिय महिला आयोगले बैतडीमा आयोजना गरेको प्रदेश स्तरीय अन्तक्र्रिया कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार महिलामाथि हुने हिंसाको स्वरूपसमेत परिवर्तन भएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले सामाजिक कुप्रथा, अन्धविश्वास, कुरीति र बालविवाहजस्ता समस्याले महिलाहिंसा बढेको बताए । अन्तक्र्रिया कार्यक्रममा उहाँले कुप्रथा, कुरीति र महिलाको अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

Navadurga sun
Godawari sandesh

उहाँको कार्यपत्र अनुसार २०७९ साउनदेखि चैतसम्म घरेलु हिंसाका १९ र लैङ्गिक हिंसासम्बन्धी ११ गरी नौ महिनामा ३० वटा महिला हिंसाका उजुरी प्रहरीमा दर्ता भएका छन् । दर्ता भएका उजुरीमध्ये २१ वटा उजुरीमा मिलापत्र र नौवटा उजुरीमाथि छानबिन भइरहेको छ । घरेलु हिंसामा परेको महिलाको उद्धारका लागि जिल्ला अस्पताल बैतडीमा सञ्चालनमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा २०७९ साउनदेखि २०८० वैशाखसम्म १८१ जना पीडित महिलाले सेवा लिएको अस्पतालका डा. थानेश्वर न्यौपानेले बताए । अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहनुभएका डा. न्यौपानेले १८१ पीडित महिलामध्ये २५ जना गम्भीर प्रकृतिको हिंसामा परे पनि कानुनी उपचार गर्न नचाहेको बताए । यति धेरै पीडा खेपेर पनि कानुनी कारबाहीका लागि महिला आफैँ तयार नभएको विषयमा खोजी हुनुपर्ने भनाइ उनको छ ।

Dadeldhura hospital

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले महिला हिंसाका घटनालाई ढाकछोप नगर्न आग्रह गर्दै पीडित महिलाको न्यायका लागि साथ र सहयोग गर्न सम्बद्ध निकाय क्रियाशील बन्नुपर्नेमा जोड दिए । स्थानीय सरकारको न्यायिक समितिको भूमिकाका बारेमा चर्चा गर्दै पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बीना भट्टले पालिका प्रमुखका कारण स्थानीय तहको न्यायिक समितिले चाहेअनुसार काम गर्न नसकेको गुनासो राखे । उनले भने, “महिला उपप्रमुखले केही पनि गर्न सक्दैन भन्ने पालिका प्रमुखले दम्भ पाल्छन् । सबै अधिकार पालिका प्रमुख आफैँले प्रयोग गर्दा न्यायिक समितिले सोचेजस्तो काम गर्न पाएको छैन ।”

बैतडीका १० वटै स्थानीय तहका उपप्रमुख एवं न्यायिक समितिका संयोजकलाई अन्तक्र्रियामा अनिवार्य सहभागिताका लागि निमन्त्रणा गरिए पनि पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरा, सिगास गाउँपालिकाका उपाध्यक्ष धाना धामी र पञ्चेश्वरका उपाध्यक्ष बिना भट्ट मात्र सहभागी हुनुहुन्छ । नागरिक समाजका अगुवा कणर्दयाल सोराडीले बैतडीमा महिलामाथि हुने छाउपडी विभेद कायमै रहेको गुनासो राख्दै समाजका प्रतिष्ठित व्यक्ति, शिक्षक, कर्मचारी र जनप्रतिनिधिले नै महिनावारी भएका महिलाले छोएको नखाने गरेको बताए ।

“छाउपडी अन्त्य गर्न महिनावारी भएका महिलाले पकाएको खाना सहभोजका रूपमा सबैले खाने गरी स्थानीय तहका वडा-वडामा अभियान चलाउनुपर्ने माग उहाँको छ । महिला हिंसा विभेद भयो भनेर अब जनचेतना जगाउने छलफल गरेर मात्रै पुग्दैन । हानिकारक कुप्रथा हटाउन जनप्रतिनिधि अग्रपङ्क्तिमा खटिनुपर्छ उनले भने ।

महिला अधिकारकर्मी तथा सञ्चारकर्मीले मदिरा पिउने कुलतका कारण बैतडीमा घरेलु हिंसा र बलात्कारका घटना बढेको बताएका छन् । स्थानीय तहको सरकारले तरकारीमा कर लिने गरे पनि ग्रामीण क्षेत्रमा भित्रिने मदिरा खुलेआम आउन दिने गरेको गुनासो अधिकारकर्मीहरूको छ । महिला अधिकारकर्मी सरस्वती नेपालीले बैतडीमा दलित महिलाले घरभित्र छाउपडी विभेद र समाजमा जातीय विभेद खेप्नु पर्दा दोहोरो पीडामा रहेको बताए । दलित र हलिया महिलाको अवस्थाका विषयमा स्थानीय सरकारले कुनै सम्बोधन नगरेको उनले गुनासो गरेका छन् ।

नागरिक समाज बैतडीका अध्यक्ष गणेश ठकुराठीले स्थानीय तहमा बेरोजगारी, भ्रष्टाचार, महिला हिंसा र जातीय विभेदको गुनासो ज्यूँकात्यूँ रहेको बताए । स्थानीय तहमा दलीय राजनीतिका कारण अन्यायमा परेका महिला, बालबालिका र दलितका आवाज कम सुन्ने गरेको गुनासो उनले राखेका छन । स्थानीय तहको सरकारले काम गरेर देखाउनुपर्ने ठाउँमा जताततै गुनासो र असन्तुष्टि बढेको भनाइ उनको थियो ।

Loading...