

अत्तरिया, १६ बैशाख- कैलालीको अत्तरियाका युवाहरु राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सुरु गरेको धर्नामा समर्थन जनाउँदै सडकमा उत्रिएका छन् । पुनले शुक्रबार देखि काठमाण्डौंको माइतीघरमा सुरु गरेको ४ बुँदे मागहरुलाई समर्थन जनाउँदै अत्तरिया क्षेत्रका युवाहरु सडकमा उत्रिएका हुन् ।





महावीर पुनले उठाएका माग सम्बोधन गर्न र सरकारलाई दवाव दिन अत्तरियाका युवाहरु स्वफुर्त रुपमा अत्तरिया चोक नजिकैको सडकमा उत्रिएर नारा लेखिएका पोष्टर लिएर आधा घण्टासम्म सडकमा उभिए दवाव सिर्जना गरेका छन् ।

युवाहरुले ‘प्रविधि मैत्री वातावरण बनाउन, २१ औं शताब्दीको विकासलाई समाउन’, ‘देश मै रोजगार सिर्जना गर्नलाई, स्वदेश कै वस्तु उपभोग गर्नलाई’, ‘नव उद्यमीको सीपलाई प्रोत्साहन गर, देश विकासमा इट्टा थप्नेलाई सम्मान गर’, ‘प्रत्येक पालिकामा एउटा उद्योग सञ्चालन गर, कति पर्ने हो विदेशी कै भर !’, ‘देश विकासमा एक कदम अघि सरौं, डा. महावीर पुनको अनुभवको प्रयोग गरौं’ भन्ने लगायतका नाराहरु लेखिएका पम्पलेट बोकेर सडकमा उभिएका थिए ।
समर्थन जनाउन सडकमा पुगेका युवा जय धामीले महाविर पुनले राखेका एजेण्डाहरु एकदमै जायज भएको बताउँदै आफुहरु त्यही मागको पुरा हुनुपर्ने कुरालाई लिएर सडकमा ब्यानर सहित उत्रिएको बताए ।
त्यस्तै समर्थनमा सहभागी युवा पुस्कर शर्मा जोशीले आफ्ना सबै कुरा त्याग गरेर नेपालमा नयाँ-नयाँ आविस्कार गर्नुपर्छ भनेर लागेका महावीर पुनको मागलाई सरकारले सम्बोधन गर्नुपर्ने बताए । उनले महावीर पुनको मागमा आफूहरुले समर्थन जनाउँदै सडकमा आएको बताए ।

त्यस्तै समर्थनमा सहभागी प्रमोद अधिकारीले महामवीर पुनले गरेको योगदानलाई राज्यले चिन्न आवश्यक रहेको बताए । उनले राष्ट्रमै बसेर केही गर्छु भनेर अगाडी बढ्नेका लागि राज्यले वातावरण बनाउन आवश्यक रहेको बताए ।
त्यस्तै समर्थनमा सहभागी हरी कडायतले महावीर पुनका माग सम्बोधन गर्न सरकारलाई दवाव दिन भोलि (आइतबार) पनि अत्तरिया चोकमा आधा घण्टा उभिएर समर्थन जनाउने कार्यक्रम रहेको बताए ।
पुनले अघि सारेका ४ बुँदे मागहरु यस प्रकार रहेका छन्:
१. अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सिर्जनशील नेपालीहरूलाई अनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याउनु पर्ने र ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ मा राख्नुपर्ने । सो कोषबाट नेपालका सम्पूणर् प्रतिभाशाली सन्ततिहरूलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने । कोषमा जम्मा भएको रकम सोही वर्ष खर्च नभए आगामी वर्षमा पनि खर्च गर्न पाउने व्यवस्था गर्नुपर्ने ।
२. सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नवीनतम् सोच भएका नेपालीहरूलाई उपलब्ध गराउन संसदले नेपाल सरकारको सार्वजनिक खरिद ऐनभन्दा छुट्टै ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन’ बनाउनुपर्ने र आवश्यकताअनुसार अनुसन्धानको कामलाई बहुवर्षीय कार्यक्रममा राख्न मिल्ने गरी नीति नियम बनाइनु पर्ने ।
३.अनुसन्धान, नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापूर्वक परीक्षण गरिएका चिजलाई उत्पादन गरी नवउद्यमी बन्न चाहने नेपालीहरूलाई उद्यम सुरू गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनु पर्ने र स्वदेशी उत्पादनलाई बजारीकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाउनु पर्ने । सो कामलाई सहज बनाउन र आवश्यकताअनुसार नीति नियम बनाउनका लागि ‘नव उद्यमी प्रवर्द्धन समिति’ बनाउनु पर्ने र सो समितिले सरकारलाई आवश्यक कदम चाल्न अनुरोध गर्ने व्यवस्था गर्नुपर्ने ।
४. प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयहरूमा व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्द्धन गर्नका लागि विज्ञान मन्त्रालयअन्तर्गत ‘व्यवहारिक अनुसन्धान र नवप्रवर्तन विभाग’ खोल्नुपर्ने । उक्त विभागलाई देशका प्रतिभाहरूलाई विदेश पलायन हुन नदिन र विदेश पलायन भैसकेका प्रतिभाहरूलाई के कसरी र कुन रूपमा हुन्छ स्वदेश फिर्ता ल्याउन र उनीहरूबाट फाइदा लिनको लागि चाल्नु पर्ने ठोस वातावरण तयार गर्ने पूणर् अधिकारसहित जिम्मा दिइनुपर्ने ।

