

धनगढी– सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता खगराज भट्टले प्रदेश सरकारको नेतृत्व आलोपालोमा जाने बताएका छन् । नेकपा (माओवादी केन्द्र) का नेता समेत रहेका भट्टले पत्रकार सँगको कुराकानीमा उनले सो कुरा बताएका हुन् ।


उनले भने, ‘आलोपालोमा जाने कुरा पनि केन्द्रकै हो । आलोपालोमा सहमति हुन्छ । यसमा कांग्रेसले बाधा अड्चन ल्याउँदैन। मुख्यमन्त्री पनि सकारात्मक नै रहेको उनले बताए ।’ मुख्यमन्त्रीको कार्यकाल कति रहने भन्ने कुरा गठबन्धनका शीर्ष नेताहरु बसेर टुंग्याउने पनि उनले बताए । अब दलहरुले आफ्नै अस्तित्व रक्षाका लागि जनताका माग सम्बोधन गर्नुपर्ने पनि भट्टले औंल्याए ।



यस्तै माओवादी केन्द्रका नेता भट्टले प्रदेश सरकारले भोलिको उपनिर्वाचनपछि पूणर्ता पाउने बताएका छन् । प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार गर्न छलफल र बहस भइरहेको बताए । कतिपय कुराको टुंगो लगाउन बाँकी रहेकाले दुई-तीन दिनमा समझदारी बन्ने उनले दाबी गरेका छन् । भोलिको उपनिर्वाचनपछि यसले ठोस आकार लिने बताए ।
उनले मुख्यमन्त्री नियुक्त भएको दुई महिना पुरा भैसकेको र उपनिर्वाचनपछि बढी ढिला गर्न नहुने बताए । नेता भट्टले प्रदेश सरकारलाई विश्वासको मत दिने सबैजसो दल सामेल हुने पनि बताएका छन् । भट्टले भने, ‘अहिलेको गठबन्धनमा हामी तीनचारवटा दल छौं ।
मन्त्रिपरिषद् कस्तो बनाउने, कुन कुन मन्त्रालय क-कसले पाउने भन्ने छ, उनले भने। नीति कार्यक्रम र बजेट कसरी ल्याउने भन्नेबारे टुंगो लाग्न बाँकी रहेको उनले बताए ।’ संघ सरकारमा सामेल नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकारमा पनि सामेल हुने विश्वास उनले व्यक्त गरेका छन् । डडेल्धुरा प्रदेश सभा (१) बाट निर्वाचित भट्ट माओवादी स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज हुन् ।