

काठमाडौं, १ वैशाख– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन् ।


नयाँ वर्ष २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले केवल क्यालेन्डर परिवर्तन नगरी नेपाल राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउने संकल्प गरेका छन् । उनले भनेका छन्, ‘संकल्प गरौं, सिंगो राष्ट्रको साझा संघर्ष र संकल्पबाट यो वर्ष केवल क्यालेन्डर परिवर्तन गर्ने छैनौं, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौं ।’



परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा क्रमभङ्ग गर्न गइरहेको बताउँदै उनले त्यसका लागि सकारात्मक वातावरण बनिरहेको उल्लेख गरेका छन् ।
बैंकको ब्याजदर कम हुँदै गएको, वैदेशिक रोजगार व्यवस्थित हुँदै गएको, श्रमिकको अधिकार सुरक्षित गर्न महत्त्वपूर्ण सामाजिक सुरक्षा अभियानमा उनीहरू जोडिएको र नागरिकले प्राप्त गर्ने सेवाहरू झन्झटमुक्त बनाउने अभियान सुरु भएको भन्दै प्रधानमन्त्री प्रचण्डले नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि अझ धेरै मिहिनेत गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन्।
नयाँ वर्षका हरेक दिन संविधानको कार्यान्वयन, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । ‘हरेक नयाँ वर्ष एउटा सुरुआत हो, विगतको समीक्षासहित नयाँ संकल्प गर्ने दिन हो, हामीले आत्मसमीक्षा गर्नैपर्छ तर हामीलाई निराश हुने छुट छैन’, प्रधानमन्त्री प्रचण्डको शुभकामनामा सन्देशमा उल्लेख छ ।
२०८० लाई राष्ट्रिय उपलब्धिहरूको ऐतिहासिक वर्ष बनाउने प्रणसहित समस्त नेपाली जनसमुदायको शान्ति, प्रगति र सुस्वास्थ्यको कामना गरेका छन् । उनले नयाँ वर्षलाई सहमति र सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रूपमा मनाउन आम जनसमुदायमा विशेष अपिल समेत गरेका छन् ।