

अत्तरिया– कैलालीको मालाखेती अस्पतालमा मृत्यु भएकी सुत्केरीको परिवारलाई ५ लाख क्षतिपूर्ति दिइने सहमति भएको छ । नवजात शिशुसहित मृत्यु भएकी सुत्केरी लक्ष्मी भटराईको परिवारलाई पाँच लाख रुपैया, एक सन्तानलाई आवससहितको माध्यामिक शिक्षासम्मको अध्यापन तथा लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्ने सहमति भएको हो ।



छानबिन समितिका संयोजक शिवराज जोशीले पीडित पक्षसँग सहमति भएको बताएका छन् । उनले शिशुसहित महिलाको शव धनगढी ल्याउने बताए । अत्तरियामा रहेको मालाखेती अस्पतालमा सुत्केरी महिलाको सोमवार मृत्यु भएको थियो । चिकित्सकको लापरबाहीले शिशुसहित सुत्केरीको मृत्यु भएको पीडित परिवार आन्दोलनमा थिए । बुधवार पीडित परिवार, प्रहरी, गोदावरी नगरपालिकाका जनप्रतिनिधि र छानबिन समितिले उक्त सहमति गरेको हो ।


जिल्ला प्रशासन कार्यालय, कैलालीका प्रशासकिय अधिकृत शिवराज जोशीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिमा सेती प्रादेशीक अस्पतालका दुई जना चिकित्सक, स्वास्थ्य निर्देशनालयका एक जना कर्मचारी र एक जना पीडित पक्षबाट सदस्य छन् ।