

अत्तरिया- कैलालीको अत्तरियामा रहेको मालाखेती अस्पतालमा मृत्यु भएको नवजात शिशुसहित सुत्केरी महिलाको शव ३ दिनदेखी उठाइएको छैन् । गोदावरी नगरपालिका वडा नंम्बर २ कडायत टोलकी लक्ष्मी भट्टराई र उनको नवजात शिशुको सोमवार बिहान अस्पतालमा मृत्यु भएको थियो ।


आईतबार बिहान सुत्केरीका लागी आएकी भट्टराईको सोमबार बिहान मृत्यु भएको थियो । तर अस्पतालमा रहेको शिशुसहित सुत्केरीको शव घटना भएको तीन दिनसम्म पनि उठ्न सकेको छैन् । घटना भएपछि परिवारका सदस्यले चिकित्सकको कमजोरीले विरामीको मृत्यु भएको भन्दै अस्पताल घेराउ गर्दै सेवा प्रवाह ठप्प पारेका थिए । अझैपनी चिकित्सकको लापरबाहीले शिशुसहित सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले शव बुझेका छैनन् । अस्पताल प्रशासन सँग छलफल भएपनि छलफल बमोजिमका मागहरु पुरा नगरेकाले पिडित पक्षले शव उठाउन दिएको छैन । पीडित पक्ष र अस्पताल प्रशासनको पटक पटक छलफल भएको छ । उनीहरुको बिचमा सहमति भएको छैन ।



मृतकका श्रीमान शिवराज भट्टराईले घटनाको निष्पक्ष छानविन भएर दोषीलाई कारबाही नभएसम्म शव नउठाउने बताएका छन । उनले अस्पतालको लापरबाहीका कारण शिशु र श्रीमतीको ज्यान गएको बताउदै घटनाको निष्पक्ष छानविन, दोषीलाई कारबाही र उचित क्षतिपुर्तिको माग गरेका छन् । उनले आफ्नो ५/६ वर्षको बालकको लालनपालन र पठनपाठनको पनि व्यवस्था मिलाईनुपर्ने बताए । यता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डाक्टर नर बहादुर मौनीले घटनाको छानविनका लागी समिति गठन गरिएको बताए । उनले घटनाको निष्पक्ष छानविन हुने र दोषीलाई कारबाही गरिने समेत बताए ।
उनका अनुसार जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत शिवराज जोशीको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको छ । जसमा धनगढी स्थित सेती प्रादेशीक अस्पतालका दुई जना डाक्टरहरु, क्षेत्रिय स्वास्थ्य निर्देशनालयका एक जना कर्मचारी र एक जना पिडित पक्षबाट रहेको उनले बताए । उक्त समितिले प्रारम्भीक अनुसन्धान गरिरहेको उनले बताए । पिडितलाई क्षतिपुर्तिको माग गर्दै स्थानियहरुले मंगलबार आन्दोलन गरेका थिए । अत्तरिया देखी कञ्चनपुर जाने राजमार्ग अवरुद्ध गर्नुका साथै नाराबाजी गरेर स्थानियहरुले आन्दोलन चर्काएका थिए ।
आन्दोलित स्थानिय माथी प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । उनका अनुसार प्रहरीले अवरुद्ध राजमार्ग खोल्ने प्रयास गर्दा स्थानियहरुले ढुंगामुडा प्रहार गरेका थिए । स्थानियहरुले ढुंगामुडा प्रहार गरेसँगै प्रहरीले लाठिचार्ज सुरु गरेको थियो भने आन्दोलनकारीमाथी अश्रुग्यास प्रहार गरेको थियो । अश्रुग्यास प्रहार पछि आन्दोलनकारीहरु तितरबितर हुँदा राजमार्ग भने सुचारु भएको छ । पुन आन्दोलनकारीहरु कैलालीको मालाखेतीमा सुत्केरी महिला र शिशुको मृत्यु भएपछि गोदावरी नगरपालिकाले कुनै चासो नदिएको भन्दै स्थानीयहरु नगरपालिकामा धर्ना दिन पुगेका छन् ।