

धनगढी- धनगढीमा चैतन्य पाठशालाको अभिभावक शिक्षाको पाँचौ शृङ्खला सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिका-१ शिवनगरमा रहेको पाठशालाले चालू शैक्षिकसत्रको अन्तिम तथा पाँचौ शृङ्खलामा विद्यालयका अभिभावकहरूको सहभागिता रहेको थियो । विद्यार्थीले शिक्षा र संस्कार सामानान्तर किसिमले सिक्नुपर्ने मान्यताका साथ पाठशालाले अभिभावकहरूलाई पनि विद्यार्थीको सिकाइको प्रेरक मान्दै आएको छ ।


असल अभिभावकको असल परिवार र असल परिवारबाट असल व्यक्तिको निर्माण हुने हुँदा विद्यालयले अभिभावक शिक्षलाई पनि विद्यार्थी सिकाइको अभिन्न अङ्ग ठानेको पाठशालाका अध्यक्ष गणेशराज जोशीले बताए । ‘अभिभावकको भुमिका अर्थपूणर् बनाउन सकियोस् भनेर हामीले अभिभावक शिक्षाका कार्यक्रम चलाएका हौँ,’ उनले भने, ‘चैतन्य पाठशालाले शिक्षा दिने मात्रै होइन, विवेक र चेतनाको उजागर गर्ने भावलाई अगाडि बढाउने उद्देश्य लिएको छ ।



विद्यार्थीहरूमा चैतन्य अवधारणा फैलाउन अभिभावकको भुमिका पनि महत्वपूणर् छ भन्ने पाठशालाले बुझेको छ ।’ कार्यक्रममा प्रमुख वक्ता रहेका डाक्टर चिन्तामणि योगीले शिक्षाले मानिसलाई औजार जस्तो नबनाएर जिम्मेवारीको बोध भएको पूणर् मानव बनाउनुपर्ने बताए । करुणा, नैतिकता, जिम्मेवारी, सकारात्मक भावको विकास गराउन विद्यालयसँगै अभिभावक पनि जिम्मेवार हुनुपर्ने योगीले बताए ।
‘व्यक्तिको सक्षमतालाई उच्चतम उपयोग गरेर सुसंस्कृत समाज निर्माण गर्न विद्यालय र अभिभावकले सक्नुपर्छ,’ उनले भने, ‘व्यक्तिको सक्षमतालाई सामाजिक उन्नयनमा प्रयोग गर्न विद्यालय र अभिभावकबाट हरेक बालबालिकाले सिक्न पाउनुपर्छ ।’ पूर्वीय दर्शनका ज्ञातासमेत रहेका योगीले हरेक स्कुलले विषयगत ज्ञानसँगै संस्कार पनि प्रदान गर्न सक्नुपर्ने कुरामा जोड दिए ।
चैतन्य पाठशालाको सिङ्गो टिमले शिक्षा मात्रै होइन संस्कारको विकास र अभ्यास पनि सँगसँगै गराउन सिकाइ क्रियाकलाप गरिरहेको थाहा पाउँदा खुशी लागेको योगीको टिप्पणी थियो । विद्यार्थीको सिकाइका लागि आवश्यक पर्ने न्यूनतम कुराको अभाव हुन नदिने प्रतिबद्धता विद्यालयले जनाएको छ । शैक्षिकसत्र २०७९ मा विद्यालयको अवधारणासँग मेल खाने विभिन्न कार्यक्रम गरिएको पाठशालाका प्रधानाध्यापक हरि जोशीले बताए ।
उनले व्यवहारिक सिकाइका क्षेत्रमा आगामी शैक्षिकसत्रबाट बढी क्रियाकलाप गरिने बताए । प्रधानाध्यापक जोशीले मुल्याङ्कन पद्धतिमा सुधार गरिने, विद्यार्थीको सिकाइ मुल्याङ्कनमा अभिभावकको पनि सहभागिता गराउने, शिक्षामा सहि र उपयुक्त प्रयास गरेर उत्कृष्ट सिकाइको केन्द्र चैतन्य पाठशालालाई बनाउने सिङ्गो टिमको उदेश्य रहेको बताए । कार्यक्रमको अध्यक्षता शिक्षक अभिभावक संघका इश्वर गिरीले गरेका थिए । कार्यक्रममा शैक्षिकसत्र २०८० को वार्षिक क्यालेन्डर सार्वजनिक गरिएको छ ।