कैलालीको धनगढीमा प्रादेशिक आयुर्वेद चिकित्सालयको उद्घाटन
कर्मचारी व्यवस्थापन र सेवा विस्तारका काम गर्ने छु : मुख्यमन्त्री शाह


धनगढी- कैलालीको धनगढीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयको उद्घाटन गरिएको छ । बुधवार सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढी उपमहानगरपालिका-१३ राजपुरमा रहेको आयुर्वेद चिकित्सालयको उद्घाटन गरेका हुन् । उनले चिकित्सालयको उद्घाटन गर्दै कर्मचारी व्यवस्थापन र सेवा विस्तारका काम गर्ने बताएका छन् ।



धनगढीमा आयुर्वेदीक चिकित्सक उत्पादन गर्ने लक्ष्य रहेको समेत उनले बताए । धनगढीमा संघीय सरकारको बजेटमा सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वन इकाईमार्फत चिकित्सालय निर्माण गरिएको हो । २०७४ सालबाट ३४ करोडमा निर्माण सुरु भएको योजना २०७८ जेठ १५ गते प्रदेश सरकारलाई सञ्चालनका लागि हस्तान्तरण गरिएको थियो । काम पूरा भएको एक वर्षपछि मात्र भवन उद्घाटन गरिएको हो ।


चिकित्सालयबाट वाथ रोग, नसा च्यापिएको, हड्डी खिइएको, पक्षघात र छाला सम्बन्धि समस्या भएका बिरामीको पञ्चकर्म-पूर्वकर्म आयुर्वेदिक पद्धतिअनुसार उपचार हुँदै आएको छ । सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले आयुर्वेद चिकित्सालयमा अभाव रहेको कर्मचारीको पदपूर्ति गर्न प्रदेश सरकारले भूमिका खेल्ने बताए । उनले चिकित्सालयको सेवा विस्तार र पूर्वाधार सुधार गरिने बताएका हुन् ।
गत असोज ११ गतेदेखि प्रादेशिक आयुर्वेद चिकित्सालयले नयाँ भवनबाट उपचार सेवा सुरु गरेको थियो । प्रदेश सरकारबाट ५० शय्या सञ्चालनको स्वीकृति पाएको चिकित्सालयको ओएण्डएम गरिएको छ । चिकित्सालय सञ्चालनका लागि ७० जना कर्मचारी आवश्यक पर्ने भएपनि व्यवस्थापन गरिएको छैन् ।



