सुदूरपश्चिम प्रदेशमा विद्युत उत्पादन दोब्बर

सुदूरपश्चिम प्रदेशमा अझै १९ प्रतिशत घर परिवार जलविद्युतको पहुँच बाहिर

धनगढी– बझाङमा निजी क्षेत्रको माथिल्लो कालंगागाड जलविद्युत आयोजनाको ३८.४६ मेगावाट र तल्लो कालंगागाड आयोजनाको १५.३३ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि सुदूरपश्चिममा झन्डै दोब्बर विद्युत उत्पादन हुने भएको छ । दुई वर्षअघिसम्म सुदूरपश्चिममा ४६ मेगावाट विद्युत उत्पादन हुन्थ्यो भने साना आयोजना सहित ५१ मेगावाट उत्पादन हुँदै आएको छ ।

अब कालंगागाडका दुई आयोजना जोडिएपछि १ सय ५ मेगावाट विद्युत उत्पादन हुन थालेको हो । यसमा बझाङ रंगुनगाड जलविद्युतबाट १ मेगावाट, ज्युलिगाड जलविद्युत आयोजनाबाट ३.५ मेगावाट लगायत गाउँका लघु विद्युत योजना समेत जोडिएका छन् । यस अघिका चमेलिया, अपि हाइड्रोसमेत पर्छन् । आयोजनाका निर्देशक वीरेन्द्र मल्लका अनुसार कालंगा हाइड्रो लिमिटेडले तीन वर्षअघि ६४.४९ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सहित काम सुरु गरेको थियो । ‘त्यसमध्ये ५४ मेगावाट उत्पादन भइरहेको र १० मेगावाट अन्तिम चरणमा पुगेको छ ।’

त्यस्तै विद्युत पहुँच बढेर सुदूरपश्चिम प्रदेशमा ८१ दशमलव ३ प्रतिशत घर परिवारमा जलविद्युतबाट बत्ति बल्ने गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनले जनाएको छ । तथ्यांक अनुसार सुदूरपश्चिममा १६.३ प्रतिशत परिवारले सौर्य उर्जाबाट बत्ति बाल्ने गरेका छन् भने ०.३ प्रतिशत परिवारले मट्टितेल, ०.०४ प्रतिशत परिवारले बायो ग्याँस र २.९ प्रतिशत परिवारले अन्य सामग्री प्रयोग गरेर उज्यालो पाउने गरेका छन् ।

कुल ५ लाख ७६ हजार ७७२ परिवार रहेको ४ लाख ६८ हजार ८०५ परिवारले विद्युत सुविधाको पहुँचमा छन् । ९४ हजार ६ परिवारले सौर्य उर्जा, १ हजार ६४६ परिवारले मट्टितेल, २१० परिवारले बायो ग्याँस प्रयोग गर्ने गरेका छन् । १२ हजार २०५ परिवारले झोरो लगायतका अन्य सामग्री प्रयोग गरेर उज्यालो पाउने गरेका छन् ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा १३ हजार ९६१ परिवार बिद्युतको पहुँच बाहिर रहेको छ । सुदूरपश्चिम प्रदेशमा विद्युत सेवा नपुगेको सबैभन्दा बढी परिवारहरु रहेकाछन् । अछाममा ३ हजार ८४९, डोटीमा १ हजार ९८५, कैलालीमा १ हजार ७८७, कञ्चनपुरमा १ हजार ३६४, बझाङमा १ हजार २१८, डडेल्धुरामा १ हजार ८६, बैतडीमा १ हजार ६३, दार्चुलामा ८३१ र बाजुरामा ७७८ परिवारले विद्युत सेवा नपुगेको हुनाले मिट्टीतेल, बायो ग्यास, झुरो लगायतका अन्य सामग्री बाल्ने गरेका छन् ।

Dadeldhura hospital

त्यसैगरी नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ सम्म देशका सबै घरधुरीमा विद्युत सेवा पुर्‍याइसक्ने लक्ष्य लिएको छ । तर सुदूरपश्चिम प्रदेशमा अझै १९ प्रतिशत घर परिवार जलविद्युतको पहुँच बाहिर छन् । प्रदेशको बाजुरामा १८.३, बझाङमा १४.९, दार्चुलामा २९.१, बैतडीमा ५०.१, डडेल्धुरामा १९.८, डोटीमा २७.४, अछाममा ४६.७ र कैलालीमा ५ र कञ्चनपुरमा २ प्रतिशत घर परिवारलाई विद्युत सेवा नपुगेको राष्ट्रिय जनगणना २०७८ ले जनाएको छ ।

आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा नेपाल सरकारले उज्यालो नेपाल अभियान अन्तरगत सो लक्ष्य निर्धारण गर्दा सुदूरपश्चिममा ६४ प्रतिशत विद्युतीकरण भइसकेको थियो । नेपाल विद्युत प्राधिकरणले २०७६ मा सुदूरपश्चिममा प्राधिरणको ग्राहक संख्या २ लाख ४१ हजार छ थिए भने २०७८ मा ३ लाख ६० हजार १२३ पुगेको छ । प्राधिरकणले दुई वर्षमा १ लाख १९ हजार ११७ ग्राहक थपेको छ ।

उज्यालो नेपाल अभियान अन्तरगत सुदूरपश्चिमको तीन जिल्ला कैलाली, कञ्चनपुर र डोटीमा आर्थिक वर्ष २०७६/०७७ भित्रै पूणर् विद्युतीकरण गरिसक्ने लक्ष्य राखिएको थियो तर ती जिल्लामा अझै २४ हजार ४६० परिवार विद्युतको पहुँच बाहिर छन् । नेपाल विद्युत प्राधिकरणले निर्धारित लक्ष्य पूरा हुने गरी विद्युतीकरण गर्न सकेको छैन ।

विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयका निर्देशक जंगबहादुर चन्दले प्राधिरकणले बजेटको व्यवस्था गरेर विद्युतीकरणका सामग्रीहरु उपलब्ध भएमा दुई वर्षभित्रै पूणर् विद्युतीकरण गर्न कठिन नहुने बताए । सुदूरपश्चिमका ६ वटा आयोजनाबाट १०६ मेगावाट जलविद्युत राष्ट्रिय प्रशारण लाइनमा उपलब्ध छ । पश्चिम सेती र सेती-६ बनाउन सरकारले भारतीय कम्पनी एनएचपिसि लिमिटेडसँग सम्झौता गरेको छ ।

त्यस्तै विद्युत प्राधिकरणका अनुसार सुदूरपश्चिम प्रदेशमा ८९ मेगावाट विद्युत उत्पादन हुने गरी थप ९ वटा विद्युत आयोजना निर्माणाधीन छन् । ५४ मेगावाटका ६ वटा आयोजनाको विद्युत खरिद सम्झौता समेत भइसकेको छ । ३ हजार ६ सय १४ मेगावाटका २० वटा विद्युत आयोजनाको अध्ययन भइरहेको छ । १०६ मेगावाट क्षमताका ४ वटा आयोजनाको अध्ययन चरणमा छ ।

प्राधिकरणका अनुसार सरकारले ९४ मेगावाटका १२ आयोजना बास्केटमा राखेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानको तथ्यांक अनुसार सुदूरपश्चिम देशभरिमै सबैभन्दा बढी विद्युत उत्पादन क्षमता भएको प्रदेश हो । सुदूरपश्चिममा १८ हजार १ सय ४९ मेगावाट विद्युत उत्पादन क्षमता छ । पछिल्लो समय सुदूरपश्चिमको कैलालीमा कापडीगाड ३३ मेगावाट, दार्चुलामा मकरीगाढ १० मेगावाट, पानीगाड १० मेगावाट, बझाङकै नवगाड र मथिल्लो नवगाड गरी ९ मेगावाट निर्माणाधीन छन ।

Loading...