अत्तरिया, २५ माघ- कञ्चनपुरको कृष्णपुर नगरपालिकाको नगरस्तरिय १३ औं राष्ट्रपति रनिङ् सिल्ड प्रतियोगिता सुरु भएको छ । बुधबार कृष्णपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा प्रतियोगिता सुरु भएको हो । उक्त प्रतियोगिताको सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका हुन ।
नगरपालिका नगर प्रमुख हेमराज ओझाको सभापतित्वमा सुरु भएको नगर स्तरिय प्रतियोगिताको प्रमुख अतिथि एवं सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथी रहेका थिए । प्रमुख अतिथी रहनु भएको कार्यक्रममा बोल्दै जोशीले खेल मानव जीवन र राष्ट्रका लागि अत्यन्त आवश्यक रहेको बताए ।
‘व्यक्तिको व्यक्तित्व निर्माणका लागि स्वस्थ जीवनयापन गर्नका निम्ति खेलको ठूलो महत्वपूणर् भूमिका हुन्छ ।’ उनले भने, ‘यद्धपी हाम्रो पाठयक्रम खेलकुद अतिरिक्त क्रियाकलापका रुपमा मानिएको छ तथापि खेलकुद मानव जीवनका लागि अनिवार्यतत्व हो ।’

उनले खेलले मानिसलाई अनुशासित बन्न सिकाउने बताए । यस्तै कार्यक्रममा नगर प्रमुख हेमराज ओझाले प्रतियोगिता नगर जिल्ला, प्रदेश हुँदै राष्ट्र सम्म निरन्तर चलिरहने बताए । खेल स्वस्थका लागि राष्ट्रका लागि पनि त्यति मात्र नभएर विकास, अनुशासन, आपसी भाइचाराको भूमिका पनि खेल्ने बताए ।
‘प्रतियोगिताहरु विद्यार्थीहरु, युवाहरुलाई एकजुट संलग्न गरी निरन्तर रूपमा सञ्चालन गर्न सक्यौं भने हाम्रो समाज मा रहेको एकदमै कुप्रथाका रुपमा भइरहेको लागू औषध कुलतमा फसिरहेका युवाहरुलाई मुक्ति मिल्नेछ’ उनले भने ।
नगरप्रमुख ओझाले प्रतियोगिता सम्पन्न लगतै नगरपालिका खेलकुद शाखाले मेयरकप कार्यक्रम अयोजना गर्न लागेको बताए । कृष्णपुर नगरपालिकामा एउटा मिनी कबर्ड हल बनाउने योजना रहेको उनले बताए ।
प्रतियोगिता कृष्णपुर नगरपालिका भित्र रहेका १३ वडा सामुदायीक विद्यालयहरु र १० वटा संस्थागत विद्यालयहरु गरी २३ वटा विद्यालयहरु सहभागी भएका छन् । उक्त रनिङ् सिल्ड प्रतियोगिता कृष्णपुर नगरपालिका ४ मा स्थित कृष्ण माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन भइरहेको छ । प्रतियोगिता यहि माघ २७ गते सम्म संचालन हुने भएको छ ।
त्यस्तै प्रतियोगितामा विजेता, उप विजेता, लगायत उत्कृष्ट खेलाडीहरुलाई रजत, कास्य, स्वणर् पदक, मेडल, सिल्ड प्रदान गरिने भएको छ । कार्यक्रममा कृष्णपुर नगरपालिका नि.प्रमुख प्रशासकीय अधिकृत कृष्ण दत्त भट्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन नगरपालिकाका सूचना तथा प्रविधि शाखा प्रमुख प्रेम बहादुर विष्टले गरेका थिए । उद्घाटन कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, अभिभावक, शिक्षक, खेलाडी, खेलप्रेमी, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।