कैलाली र कञ्चनपुरका ४ नदीमा तटबन्ध निर्माण हुँदै

महेन्द्रनगर- जनताको तटबन्ध कार्यक्रमअन्तर्गत कञ्चनपुर र कैलालीका ४ नदीमा तटबन्ध निर्माण भइरहेको छ । नदी तथा खोला नियन्त्रणका लागि कञ्चनपुरको महेन्द्रनगरमा स्थापना गरिएको जनताको तटबन्ध फिल्ड ७ नं कार्यालयले यहाँको महाकाली, दोदा, मोहना र कैलालीको खुटिया नदीमा तटबन्ध निर्माणको काम गरिरहेको हो ।

उक्त कार्यालयका प्रमुख श्रीप्रसाद साहले ४ वटै नदीको विभिन्न स्थानमा नदी कटान नियन्त्रण गर्ने उद्देश्यले गत भदौदेखि तटबन्ध निर्माण द्रुत गतिमा भइरहेको जानकारी दिए। उनका अनुसार दोधारा चादँनी नगरपालिकातर्फ महाकाली नदीमा तटबन्ध निर्माण भइरहेको छ ।

Navadurga sun

यहाँ करिब २ किलोमिटर तटबन्ध निर्माणका लागि ७ करोड ५६ लाखमा ठेक्का सम्झौता भएको थियो । सो तटबन्ध निर्माण गत असोजदेखि शङ्कर–जोशी जेभीले गरिरहेको र २ वर्षभित्र गरिसक्ने उक्त कार्यालयले जनाएको छ । त्यसैगरी यहाँको सबैभन्दा बढी कटान समस्या रहेको दोदा नदीको तटबन्ध पनि नियमितरूपमा हुँदै आएको छ ।

दोदा नदीको कटानले सबैभन्दा बढी लालझाडी गाउँपालिकाका नागरिक समस्यामा परेका छन् । उक्त गाउँपालिका-२ र ५ मा १ किलोमिटर तटबन्ध निर्माणाधीन अवस्थामा छ । उक्त तटबन्ध निर्माणका लागि ३ करोड १२ लाखमा ठेक्का सम्झौता गरिएको थियो। केही समय बस्ती जोगाउन दोदा नदीको तटीय क्षेत्रमा जैविक तटबन्ध निर्माणमा जुटेका लालझाडी गाउँपालिका–२ का वासिन्दाले अहिले बगरमा मसला रोपेका छन् ।

स्थानीय रामदल रानाले ४ बिघा जमिन दोदाले बगाएपछि आफ्नो परिवारलाई जीविका चलाउन समस्या भएको गुनासो गरे। ‘सानो बजेटले दोदाको तटबन्ध निर्माण सम्भव नै देखिँदैन, केन्द्र सरकारको बजेटमा नपरेसम्म दोदाको तटबन्ध निर्माण असम्वभ जस्तै छ,’ उनले भने । उक्त कार्यालयका अनुसार कृष्णपुर नगरपालिकाअन्तर्गत मोहना नदी र कैलालीको खुटिया, धनगढीको चटपकपुरलगायत स्थानमा गत वर्षदेखि एशियाली विकास बैंकको कार्यक्रमअन्तर्गत तटबन्ध निर्माण भइरहेको छ । रासस

 

ADD Khali jpg
ADD Khali jpg
Loading...