धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलसँगै प्रदेशसभाका दुई जना मन्त्रीले पद तथा गोपनियताको सपथ खाएका छन् । बिहीबार साँझ मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशप्रमुख देवराज जोशीबाट सपथ ग्रहण गरेका हुन् । त्यसपछि दुई जना प्रदेशमन्त्रीलाई पनि सपथ ग्रहण गराएका हुन् ।
सपथ ग्रहण गर्नेमा नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट र नेकपा एमालेकी सन्तोष कुमारी थापा शर्मा छिन् । उनीहरु दुबैजना विना विभागीय मन्त्री बनेका हुन् । एमालेकी थापा कैलालीबाट समानुपातिक कोटामा प्रदेश सांसद चुनिएकी थिइन । थापा एमालेको दलको उपनेता हुन् । माओवादीका भट्ट डडेल्धुराबाट प्रत्यक्ष निर्वाचित सांसद हुन । उनी माओवादीको दलको नेता हुन।उनी मुख्यमन्त्रीका आँकाक्षी थिए ।
सत्तारुढ गठबन्धनमा प्रदेश सरकारको नेतृत्व पहिलो चरणमा एमालेले गर्ने सहमति भएपछि उनी मुख्यमन्त्री बन्न पाएनन् । भट्टलाई चुनावअघि मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएको थियो । उनी एमाले नेतृत्वको सरकारमा मन्त्री बनेका छन् । तर केन्द्रमा एमाले र माओवादीको समिकरण बनेसँगै प्रदेश सरकार आधाआधी चलाउने सहमति भएको छ । उक्त सहमति अनुसार अहिले एमालेका रावल मुख्यमन्त्री बनेपनि दोस्रो कार्यकालमा भट्ट मुख्यमन्त्री बन्ने सम्भावना छ ।
