धनगढी– धनगढी उपमहानगरपालिका भित्र एक साथ चार वटा सुविधा सम्पन्न गौशाला निर्माणको तयारी थालिएको छ । उपमहानगरभित्र सामुदायिक पशुचौपायाको दीर्घकालीन व्यवस्थापनका लागि एकसाथ चारवटा गौशाला निर्माणको प्रक्रिया सुरु गरिएको हो ।


धनगढी उपमहानगरपालिकाले हरेक वर्ष गौशाला व्यवस्थापनका लागि ५० लाखका दरले बजेट विनियोजन गर्ने गरि सुविधा सम्पन्न गौशाला निर्माणको प्रक्रिया आइतबारदेखि सुरु गरेको छ । धनगढी उपमहानगरपालिका-१६ रामनगरमा गौशाला निर्माणका लागि स्कोन नेपाल नामक संस्थाले सञ्चालन गर्ने गरि निर्माण सम्झौता भएर शिलान्यास समेत गरिसकिएको छ ।


धनगढी उपमहानगरपालिका वडा नम्बर १६ को रामनगरमा निर्माण हुने गौशालाको शिलान्यास धनगढीको उत्तर रामेश्वर पीठ लक्ष्मीनारयण मन्दिरका श्री १००८ स्वामी देवराज आचार्यले गरेका हुन् । उपमहानगरपालिकाभित्र हाल तीनवटा गौशाला निर्माणका लागि सम्झौता भइसकेको छ । फूलबारी क्षेत्रमा गौशाला निर्माण गर्न समिति गठन भइसकेको छ ।

१३, ११ र ६ नम्बर वडाका लागि वडा नम्बर ११ मा गौशाला बनाउने प्रक्रिया थालिएको छ । यसका लागि समिति बन्न भने बाँकी छ । बाँकी तीन स्थानका लागि गौशाला निर्माण गर्न समिति बनेर तीनवटैको सम्झौता भइसकेको छ । दुईवटामा उपभोक्ता समिति गठन भइसकेको उपमहानगरले जनाएको छ ।
धनगढी उपमहानगरपालिका वडा नं. ७ देवहरियामा बनाउने भनिएको गौशाला निर्माणको भने सम्झौता भएको छैन् । देवहरियामा गौशला निर्माणका लागि स्थान उपयुक्त नभएको र वनस्पति कार्यालयले तारबारमा रोक लगाएका कारण उपयुक्त स्थान हेरेर गौशला निर्माण कार्य अघि बढाइने धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले बताए ।
‘वैकल्पिक व्यवस्थाअनुसार यसअघि वनस्पति कार्यालयले ६ महिनाका लागि सो जमिन उपलब्ध गराएको रहेछ । सो क्षेत्रमा नयाँ भवन, तारबारदेखि चौकीदार राख्न नमिल्ने व्यवस्था भएकाले अन्त कतै उपयुक्त जमिन खोज्दैछौँ’, उनले भने । सो गौशालामा कुनैपनि भौतिक संरचना निर्माण गर्न पाइने अवस्था छैन् ।
चारवटा क्षेत्रमा चारवटा गौशाला निर्माण गरेर दीर्घकालीन रुपमा सामुदायिक पशुचौपाया व्यवस्थापनको काम अघि बढेको छ । जसका लागि तीनवटा समितिसँग सम्झौता भएर दुईवटा उपभोक्ता समिति गठन भइसकेका छन् । एउटा समिति बन्नै बाँकी छ भने चौथो गौशाला निर्माण गर्न जग्गाको टुंगो नलाग्दा काम अघि बढाउन नसकिएको उपमहानगरले जनाएको छ ।





