

अत्तरिया, १८ पुष- कञ्चनपुरको कृष्णपुुर नगरपालिका वडा नं.६ मा एक महिनासम्म फुटबल प्रशिक्षण तालिम सुरु गरिएको छ। सोमबार कृष्णपुर नगरपालिका वडा नं.६ को आयोजनामा एक महिनासम्म चल्ने फुटबल प्रशिक्षण तालिममा सहभागिता जनाउँदै नगर प्रमुख हेमराज ओझाले एक वडा एक खेल मैदानको अवधारणा एवं नगरस्तरीय मिनि स्टेडियम बनाउन अध्ययन गरिरहेको बताउनु भएको छ ।






निर्वाचित भएदेखि नै खेलकुदलाई प्राथमिकतामा राखेर काम गरिरहनु भएका नगरप्रमुख ओझाले युवाहरुसँग अनुभव साँट्दै स्वस्थ युवाले खेल प्रदर्शनबाट नगरको गरिमा बढाउनका साथसाथै समाज रुपान्तरणमा पनि अहम भुमिका निर्वाह गर्ने भएकोले यो संवेदनशील उमेरमा अनुशासित भएर तालीमको भरपुर फाइदा लिन युवाहरुलाई आग्रह समेत गर्नु भएको थियो ।

कृष्णपुर नगरपालिका वडा न ६ का वडाध्यक्ष बाबुराम चौधरीको अध्यक्षतमा सुरु भएको १ महिने फुटबल प्रशिक्षण तालिम माघ १८ गतेसम्म चल्नेछ । वडा न ६ को सरस्वती खेल मैदान मौरीफाँटामा ४५ र सिंहपुर खेलमैदानमा ४५ जना गरि कुल ९० खेलाडी प्रशिक्षणमा सहभागी हुनेछन् । खेलाडीहरुलाई प्रशिक्षक भिष्म भाट र मनिराज चौधरीले प्रशिक्षण गराउने छन ।