

अत्तरिया, १७ पुष– कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ को आयोजनामा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । आइतबार देखि सयपत्री सामुदायिक वनको खेलमैदानमा संचालन भएको प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिताको नगर प्रमुख हेमराज ओझाले सद्घाटन गरेका हुन ।





उद्घाटन सत्रमा बोल्नुहुँदै नगरप्रमुख ओझाले कृष्णपुर खेलकुदको उर्वर भुमि र ओलम्पियन दिपक बिस्ट जन्माउने भुमि भएकोले यस नगरका खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि आवश्यक पहल गर्न आगामी दिनमा नगरपालिकाको खेलकुद क्षेत्रको बृहत्तर विकासका लागि डिपिआर बनाएर अघि बढ्ने बताए । कृष्णपुरलाई खेलका माध्यमबाट पनि चिनाउन एक वडा एक खेल र मिनी रंगशालाको अवधारणा बारे पनि आफुले अध्ययन गरिरहेको नगरप्रमुख ओझाले बताए ।


साथै उनले खेलसँगसँगै युवाहरुले अहिलेको अत्यन्तै जटिल समस्या लागू औषध निराकरणमा पनि भुमिका खेली सभ्य सुसंस्कृत समाज निर्माणमा सहयोग पुर्याउनुपर्ने समेत बताए ।

उक्त फुटबल प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । त्यस्तै बिशिस्ट अतिथी उप प्रमुख द्रौपती राना रहेको कार्यक्रम वडा नम्बर ५ का वडा अध्यक्ष टेक पाण्डेयको सभापतित्वमा सम्पन्न भएको थियो ।