मेयर हमालले ३ महिनामा पाएको अढाई लाख बढी सुविधाले असक्त र विपन्नलाई पोसाक किनिदिने

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले ३ महिनाको सेवासुविधा बापत पाउने रकम सामाजिक कार्यमा लगाउने भएका छन् । उनले साउन, भदौ, असोज र पर्व खर्चबापत पाएको २ लाख ६७ हजार ८ सय समाज सेवामा समर्पित गर्ने भएका हुन् ।

उनले दसैँको अवसरमा सो रकमबाट धनगढीमा रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी तथा सामाजिक संस्थाहरुमा आश्रित २६९ जनालाई पोशाक किनिदिने भएका छन् । मेयर हमालले दक्षिणकाली अधारभूत बहिरा विद्यालय बेलाका १ सय ५ जना विद्यार्थी, दृष्टि फाउन्डेसनका ५५ जना आश्रितहरु, मानव सेवा आश्रममा रहेका ५६ जना, आमाको माया छात्रावासमा रहेका ३० जना, गेटा अपाङ्ग समाजका ५ जना र पञ्चोदय माविमा अध्ययनरत १८ जना दृष्टिविहिन विद्यार्थीलाई पोशाक किनिदिने बताए। उनले चुनावका बेला नै आफू निर्वाचित भइसकेपछि कुनै सेवासुविधा नलिने घोषणा गरेअनुरुप नै बाचा पुरा गरेको बताए।
मेयर गोपाल हमालले ७९ हजार ६ सयका दरले साउन, भदौ र असोजको सेवासुवाधा र २९ हजार पर्व खर्च गरि २ लाख ६७ हजार ८ सय बुझेको जानकारी दिएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

यसअघि मेयर हमालले असार महिनाको सुविधा दक्षिणकाली बहिरा आधारभूत आवासीय विद्यालयलाई हस्तान्तरण गरेका थिए । उनले उपमहानगरपालिकाको वडा नम्बर ११ मा रहेको बहिरा आधारभूत विद्यालयलाई असार महिनाको सुविधाबाफतको रकम ८१ हजार ५ सय ७६ रुपैयाँ हस्तान्तरण गरेका थिए ।

यस्तै जेठ महिनाको २३ दिनको हुन आउने ५५ हजार ६८७ रुपैयाँ ८३ पैसा रकम धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको गौ संरक्षण सेवा समितिलाई हस्तान्तरण गरेका थिए ।

उनले चुनावअघि धनगढी उपमहानगरपालिकाबाट कुनै सेवासुविधा नलिने प्रतिवद्धता गरेका थिए । सोही प्रतिवद्धताअनुसार आगामी ५ वर्षसम्म हरेक महिना उपमहानगरबाट पाउने सुविधा आफूले नलिइ समाजसेवामा लगाउने मेयर हमालले बताएका छन् । मेयर हमालले आफूले पाएको गाडी सुविधा पनि वडा स्वास्थ्य क्लिनिकका लागि भनेर स्वास्थ्य शाखालाई हस्तान्तरण गरिसकेका छन् ।

Loading...