


स्थानीय तहको चुनाव नजिकिएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यस्तता बढेको छ। उनी एकैदिन तीनरचार कार्यक्रममा सरिक हुँदैछन्। हिजो इलाम र झापाका धेरै ठाउँमा ओलीले भ्रमण गरे। इलाममा रहँदा ओलीले धार्मिक गुरु आत्मानन्द लिङ्देनलाई पनि भेटे।


लिङ्देन धार्मिक गुरु भएका हिसावले भेटघाट गरेको बताइएको छ। आत्मानन्द लिङ्देनको रहेको क्षेत्र नेकपा एमाले उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको हो। सोही क्षेत्रको माङ्सेबुङ गाउँपालिकामा यसपटक एमालेलाई जिताउन केन्द्रीय नेताको सरगर्मी बढेको बताइन्छ। माङ्सेबुङमा गएको स्थानीय तहको चुनावमा कांग्रेसका डिकेन्द्र इदिंगोले जितेका थिए।



एमालेका हेमन्त राई पराजीत भए। यसपटक पनि उनीहरु बीच नै प्रतिस्पर्धा हुँदैछ। यस कारण ओली आफै सोही क्षेत्रमा भ्रमण गरेका हुन्। ओली हिजो सोही क्षेत्रमा सरिक रहे पनि आज भने सुदूरपश्चिमाञ्चन प्रदेश पुग्दैछन्। उनी आज सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा आयोजना हुने चुनावी सभामा सहभागी हुने भएका छन्। उनी बिहान सौर्य एयरलाइन्सको नियमित उडानमार्फत् सुदूरपश्चिम जान लागेका हुन्। ओलीले कैलालीको बर्दगोरियामा आयोजना हुने चुनावी सभालाई बिहान साढे ११ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
त्यहाँको चुनावी सभा सकेर उनी कञ्चनपुरको बेलौरीमा हुने चुनावी सभालाई सम्बोधन गर्न पुग्नेछन्। बेलौरीको चुनावी सभा सकेर दिउँसझ ४ बजे कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
तीनवटै स्थानमा आयोजना गरिएका चुनावी सभालाई सम्बोधन गरेर ओली बिहीबार साँझै काठमाडौं फर्किने कार्यक्रम रहेको छ। कैलाली एमाले नेता लेखराज भट्टको गृहजिल्ला हो। यस्तै कञ्चनपुर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी बीना मगरको क्षेत्र हो। उनी सोही कारण पनि कञ्चनपुर पुग्दैछन्।





