

बाजुरा, २ असार– बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते स्थानीय तहको निर्वाचन हुने भएको छ । विहीबार विभिन्न ६ राजनीतिक दलका प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखसहितको सहभागितामा उक्त मिति तय भएको हो ।



प्रशासन कार्यालयमा बसेको सर्वदलिय बैठकबाट २३ गते चुनाव हुने निणर्य गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताएका छन् । वैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण पुनः मतदान गर्ने निर्वाचन आयोगले निणर्य गरेको थियो ।


बुढीगंगाको विवाद अध्ययन गर्न निर्वाचन आयुक्त सगुनशमशेर जबरासहितको टोलीले स्थलगत अध्ययन गरेर फिर्ता गएको थियो । नेकपा एमाले मतगणना हुनुपर्ने माग राख्दै उच्च अदालत दिपायलमा रिट दर्ता गरेको छ । हाल उक्त रिट विचाराधिन अवस्थामा रहेको छ ।

