धनगढी, १६ जेठ- धनगढीका मेयर गोपाल हमालले नगरवासीका गुनासा, सल्लाह, सुझाव तथा समस्या सम्बोधनका लागि ह्वाटस्एप नम्बर सार्वजनिक गरेका छन् । उनले उपमहानगरपालिकामा सोमवार पत्रकार सम्मेलन गरेर आफ्नो ह्वाटस्एप नम्बर सार्वजनिक गरेका हुन् ।

सार्वजनिक सरोकारका सवालमा नगरवासीका गुनासा, पीरमर्का सुन्न, सल्लाह सुझाव लिन मेयर हमालले ९८५८४८८८९५ नम्बर सार्वजनिक गरेका छन् । ‘यो नम्बर मसँग हुन्छ । नागरिकको गुनासो सुन्नलाई हो । विकास निर्माणको काममा कहीँ कमसल सामग्री प्रयोग, गलत काम, कर्मचारीबाट ढिलासुस्ती वा नागरिकलाई दुःख दिने काम भएको छ भने कल गर्नुस् । म तुरुन्त कारवाहीको प्रक्रियामा जान्छु,’ उनले भने ।
भ्रष्टाचार अन्त्य गरी सुशासन कायम र लोककल्याणकारी नगरको निर्माणमा आफू लागेको बताउँदै उनले व्यक्तिगत कामका लागि भने सो नम्बरमा फोन नगर्न समेत अनुरोध गरेका छन् ।