बाजुराको बडिमालिका प्रमुख र उपप्रमुखमा पत्रकार

बाजुरा, ४ जेठ– जिल्लाको बडिमालिका नगरपालिकामा विगतमा पत्रकारिता गरेका एमालेका उम्मेदवार अमर खड्का प्रमुखमा र नन्दा थापा उपप्रमुखमा निर्वाचित भएका छन् ।

प्रमुखमा खड्काले ४ हजार १९ मत पाएर विजयी भएका हुन् । उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार धनराज पण्डित भन्दा ४ सय ६७ मत बढी ल्याएर खड्का विजयी भएका छन्। उनका प्रतिद्धन्दी पण्डित पनि पूर्व पत्रकार हुन् । खड्कासंग पराजित पण्डितले ३ हजार ५ सय ५२ मत ल्याएका छन् । प्रमुखमा विजयी खड्काले केही वर्ष पहिलासम्म काठमाण्डौमा दृष्टी साप्ताहिकमा काम गर्दै आएका खड्का बाजुरा आएपछि नेकपा एमालेको राजनीतिमा सक्रिय भए । एमालेका जिल्ला कमिटी सदस्य हुँदै पार्टी प्रचार प्रशार विभाग प्रमुखको जिम्मेवारी समेत पाएका थिए ।

त्यस्तै उपप्रमुख जितेकी नन्दा थापा पनि पत्रकार हुन् । उनले ४ हजार २ सय ३३ मत पाइन् । उनले नेपाली कांग्रेसकी उम्मेदवार राधिका सिंहलाई पराजित गरेकी छन् ।

उपप्रमुख थापाले प्रतिपक्ष उम्मेदवार सिंह भन्दा ८ सय ८२ मत बढीले जितेकी छन् । थापा उपप्रमुखको उम्मेदवार हुनु अघिसम्म पनि सक्रिय पत्रकारितामा थिइन् ।

उनी रेडियो बार्जुकी स्टेशन मेनेजर, राजधानी दैनिक लगायतका मिडियामा आवद्ध भएर सक्रिय पत्रकारीता गरिरहेकी थिईन । हाल उनी प्रेस चौतारी नेपाल बाजुराकी अध्यक्ष पनि हुन् ।

Loading...