सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तह मध्ये ६ स्थानीय तहमा मत गणना सम्पन्न, कसको मत कती ?
अत्तरिया, १ जेठ- सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तह मध्ये अहिलेसम्म ६ वटा स्थानीय तहमा मत गणना सम्पन्न भएका छन् । सम्पन्न भएका स्थानीय तहमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी (केन्द्र) ले दुई/दुई स्थानीय तहमा जित हात पारेका छन् ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका रहेको डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा इन्द्र कार्की र उपाध्यक्षमा ज्ञानु सेठी विजयी भएका हुन् । कार्कीले ३ हजार १ सय ८४ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस बिपीका उम्मेदवार सुरेन्द्रबहादुर मालीले १ हजार ६ सय ५ मत पाए ।
त्यस्तै गाउँपालिका उपाध्यक्षमा काँग्रेसकै सेठीले ३ हजार १३ मत पाइन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रबहादुर महराले १ हजार ७ सय ३ मत पाए । यहाँ कांग्रेस बिपी र नेकपा एमालेले गठबन्धन गरी नेपाली काङ्ग्रेससँग प्रतिस्पर्धा गरेको थियो।डोटीको बडिकेदार गाउँपालिकामा पनि नेपाली काँग्रेसले विजयी हात पारेको छ । यहाँ अध्यक्षमा नेपाली काँग्रेसका भैरवबहादुर साउँद र उपाध्यक्षमा डम्मरीकुमारी विष्ट विजयी भएका हुन् ।
साउँदले २ हजार ३ सय ४३ मत ल्याउँदै जित हासिल गरेका हुन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका चक्रबहादुर घर्ती मगरले एक हजार ६ सय ८४ मत पाए । उपाध्यक्षमा काँग्रेसकी विष्टले दुई हजार चार सय ७ मत ल्याउँदा उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी सपना सिराडीले २ हजार २ सय ७६ मत पाएकी थिइन् ।

त्यसैगरी बझाङका दुई स्थानीय तहमा नेकपा एमालेले जित हात पारेको छ । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी भएका छन्, उनी दुई हजार सात सय ७४ मतका साथ गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । रोकायाका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार कुलराज जोशीले २ हजार १ सय १३ मत पाएका थिए ।
त्यस्तै उपाध्यक्षमा भने गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार राम खाती विजयी भएका छन् । खातीले ३ हजार १ सय ५० मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मिरादेवी रावलले २ हजार ५ सय ८७ मत पाएकी थिइन् ।
त्यस्तै बझाङकै साइपाल गाउँपालिकामा एमालेका उम्मेदवार मानबहादुर बोहराले ६ सय ७५ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भए भने गठबन्धनका तर्फबाट उम्मेदवार बनेका काँग्रेसका उज्वल बोहराले ६ सय १३ मत ल्याएका थिए । गाउँपालिका उपाध्यक्षतर्फ नेकपा एमालेका डोल्मा तामाङले ६ सय ७५ मतसहित विजयी भएकी छिन् भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेसकी बाटु बोहराले ६ सय १९ मतसहित पराजित भइन् ।
त्यस्तै अहिलेसम्म मतगणना सम्पन्न भएको दार्चुलाको अपी हिमाल गाउँपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी (केन्द्र) का उम्मेदवार भगतसिंह ठेकरे (बोहरा) अध्यक्ष र गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी काँग्रेसकी देवकीदेवी बोहरा उपाध्यक्षमा निर्वाचित भएका छन् । ठेकरेले २ हजार ३ सय ४ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार धर्मानन्द मन्यालले १ हजार ३ सय ८५ मत पाएका थिए ।
त्यस्तै उपाध्यक्षमा बोहराले २ हजार २७ मत ल्याएकी थिइन् भने प्रतिद्वन्द्वी एमालेकी उर्मिला बोहराले १ हजार ३ सय ९१ मत ल्याएर पराजित भइन्। यस्तै जिल्लाकै नौगाड गाउँपालिकामा सत्ता गठबन्धन विजयी भएको छ ।
गठबन्धनबाट अध्यक्षका उम्मेदवार माओवादीका दलजित धामी ३ हजार ५९८ मत प्राप्त गरी विजयी भएका हुन् । एमालेका उम्मेदवार प्रेमसिंह धामी ३ हजार १९१ मा रोकिएका छन् । त्यस्तै उपाध्यक्षमा गठबन्धनबाट काँग्रेसका जगतसिंह ठगुन्ना ३ हजार ७६७ मतसहित विजयी भएकी छन् । एमालेकी गौरीदेवी ठगुन्नाले २ हजार ८६७ मत प्राप्त गरेकी छन् ।