गोदावरी–१० मा नयाँ वडा कार्यालय भवन निर्माण सुरु, नगर प्रमुख भट्टद्वारा शिलान्यास

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० मा नयाँ वडा कार्यालय भवन निर्माण कार्य सुरु भएको छ। शुक्रबार नगर प्रमुख वीरेन्द्र भट्टले एक कार्यक्रमबीच भवनको शिलान्यास गरेका हुन्।

भवन निर्माणका लागि आभव बिल्डर्स प्रा.लि.ले मूल्य अभिवृद्धि कर (भ्याट) सहित ६२ लाख ९१ हजार ११४ रुपैयाँमा ठेक्का पाएको छ। निर्माण पक्षले सम्झौतामा तोकिएको समयभन्दा अगावै भवन निर्माण सम्पन्न गर्ने जनाएको छ।

Navadurga sun

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले नागरिकलाई आफ्नै वडाबाट सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउनु स्थानीय सरकारको प्राथमिकता रहेको बताए। वडा कार्यालयको आफ्नै व्यवस्थित भवन निर्माण भएपछि सेवाग्राहीलाई सेवा लिन सहज हुने र कर्मचारीलाई पनि नियमित प्रशासनिक काम सञ्चालन गर्न सुविधा पुग्ने उनको भनाइ थियो।

उनले भवन निर्माण कार्य निर्धारित समय र गुणस्तरअनुसार सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रहसमेत गरे।

त्यस्तै, वडा नम्बर १० का वडाध्यक्ष रवीन्द्र शाही (गुड्डु) ले पर्याप्त भौतिक पूर्वाधारको अभावमा वडा कार्यालयबाट सेवा प्रवाह गर्दा विभिन्न समस्या हुँदै आएको बताए। नयाँ भवन निर्माण भएपछि वडावासीलाई प्रशासनिक सेवा लिन सहज हुने र कार्यालयका कामकाज थप व्यवस्थित हुने उनले विश्वास व्यक्त गरे।

वडाध्यक्ष शाहीका अनुसार वडाका सबै क्षेत्रका नागरिकलाई सहज पहुँच हुने स्थान छनोट गर्न सर्वदलीय सहमति गरिएको हो। सबै राजनीतिक दल तथा सरोकारवालाको सहमतिका आधारमा भवन निर्माण प्रक्रिया अघि बढाइएको उनले बताए।

नयाँ भवन निर्माण सम्पन्न भएपछि सिफारिस, दर्ता, सामाजिक सुरक्षा, व्यक्तिगत घटना दर्तालगायतका सेवा प्रवाह थप व्यवस्थित हुने अपेक्षा गरिएको छ। आफ्नै भवनबाट सेवा सञ्चालन भएपछि वडा नम्बर १० का नागरिकले स्थानीय स्तरमै सहज र प्रभावकारी प्रशासनिक सेवा प्राप्त गर्ने विश्वास गरिएको छ।

ADD Khali jpg
Loading...