अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई निरन्तरता दिँदै चीन, युरोपेली संघसहित १४ देश तथा क्षेत्रबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन्।




प्रस्तावित नयाँ शुल्कमध्ये चीनमाथि सबैभन्दा बढी ४० प्रतिशतसम्म, भियतनाममाथि ३५ प्रतिशतसम्म तथा अन्य देशमाथि २० देखि २५ प्रतिशतसम्म शुल्क लगाउने तयारी गरिएको छ। नयाँ शुल्क आगामी वर्षदेखि लागू हुने अपेक्षा गरिएको छ।





नयाँ शुल्क चीन, युरोपेली संघ, सिंगापुर, स्विट्जरल्यान्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, थाइल्यान्ड, दक्षिण कोरिया, भियतनाम, ताइवान, बंगलादेश, जापान र भारतमा लागू हुने प्रस्ताव गरिएको बीबीसीले जनाएको छ।
अमेरिकी सर्वोच्च अदालतले यसअघि ट्रम्पले घोषणा गरेका ‘लिबरेसन डे’ भन्सार शुल्कलाई गैरकानुनी ठहर गरेपछि ह्वाइट हाउसले गत मार्चमा अन्य देशका व्यापारिक अभ्यासबारे अनुसन्धान सुरु गरेको थियो। सोही अनुसन्धानका आधारमा नयाँ शुल्क घोषणा गरिएको हो।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीयरले नयाँ भन्सार शुल्कले अमेरिकी श्रमिकका लागि समान प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने र विश्व अर्थतन्त्रलाई थप दिगो दिशामा अघि बढाउने दाबी गरेका छन्।


उनका अनुसार अमेरिकाका व्यापारिक साझेदारहरूले दशकौँदेखि उत्पादन, ज्याला तथा श्रम व्यवस्थापनलाई लक्षित गरी अपनाएका औद्योगिक रणनीति र बजार प्रभावित पार्ने अभ्यासका कारण अमेरिकी उत्पादन क्षेत्र कमजोर बनेको छ। यस्ता अभ्यासले व्यापार सन्तुलनसमेत अन्य देशको पक्षमा पारेको उनको आरोप छ।
भन्सार शुल्क भनेको विदेशबाट आयात हुने वस्तुमा लगाइने कर हो। सामान्यतया आयातित वस्तुको मूल्यको निश्चित प्रतिशतका आधारमा यस्तो कर निर्धारण गरिन्छ। आयातकर्ताले सरकारलाई बुझाउने भए पनि यसको अतिरिक्त लागत अन्ततः उपभोक्तासम्म पुग्न सक्छ।
यद्यपि, ट्रम्पले केही देशसँग यसअघि नै शुल्कसम्बन्धी सहमति गरिसकेकाले प्रस्तावित दरको तुलनामा प्रभावकारी शुल्क कम हुन सक्ने बताइएको छ। विभिन्न देशका लागि शुल्क दर पनि फरक–फरक हुनेछन्।
अर्थशास्त्रीहरूले भने नयाँ भन्सार शुल्कले मुद्रास्फीति बढाउन सक्ने चेतावनी दिएका छन्। आयात लागत बढेपछि व्यवसायीले त्यसको भार उपभोक्तामाथि सार्न सक्ने र त्यसले दैनिक उपभोग्य वस्तुसहित विभिन्न सामानको मूल्य वृद्धि गराउन सक्ने उनीहरूको भनाइ छ। यसले अन्तर्राष्ट्रिय व्यापारमा समेत संकुचन ल्याउन सक्ने चिन्ता व्यक्त गरिएको छ।
ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा अमेरिकी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले पटक–पटक भन्सार शुल्क लगाउने वा लगाउने चेतावनी दिँदै आएका छन्।
मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कमजोर नतिजा हासिल गरे पनि ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई निरन्तरता दिएका छन्। अमेरिकाले अन्य देशबाट आयात गर्ने वस्तुको मूल्य र निर्यात गर्ने वस्तुको मूल्यबीचको अन्तर अर्थात् व्यापार घाटा घटाउने लक्ष्यसमेत उनले अघि सारेका छन्।




