कञ्चनपुरको कृष्णपुर नगरपालिकामा प्रथम नगरस्तरीय यु–१८ छात्र फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। कृष्णपुर नगरस्तरीय बाल सञ्जालको आयोजना तथा कृष्णपुर नगरपालिकाको सहकार्यमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।




आयोजकका अनुसार प्रतियोगिता आगामी कात्तिक १६ गतेदेखि कृष्णपुरस्थित सिंहपुर सामुदायिक वनको खेल मैदानमा सुरु हुनेछ।





‘कृष्णपुरका बालबालिकाको चौतर्फी विकास, स्वस्फूर्त निर्णय लिन सक्ने, सबैले निकालौँ निकास’ भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रतियोगिताको मुख्य नारा ‘खेलौँ, सिकौँ र सँगै अघि बढौँ’ रहेको छ।


प्रतियोगितामा प्रथम हुने टोलीले नगद ३० हजार रुपैयाँसहित ट्रफी र पदक प्राप्त गर्नेछ। यस्तै, दोस्रो हुने टोलीले १५ हजार रुपैयाँ र तेस्रो हुने टोलीले १० हजार रुपैयाँसहित ट्रफी र पदक प्राप्त गर्ने आयोजकले जनाएको छ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई नगद तीन हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ। त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मध्यपंक्तिका खेलाडी, उत्कृष्ट अग्रपंक्तिका खेलाडी, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही एक हजार पाँच सय रुपैयाँ र ट्रफी प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले तीन हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ। प्रतियोगितामा सहभागिता तथा अन्य जानकारीका लागि अशोक सिंह धामी र टेकराज जोशीलाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
प्रतियोगिताले स्थानीय बालबालिका तथा युवामा खेलकुदप्रतिको रुचि बढाउनुका साथै प्रतिभा पहिचान र खेलकुद विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।




