काठमाडौं- बडादसैँको नवरात्रअन्तर्गत आज पाँचौँ दिन नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन स्कन्दमाताको पूजा गर्ने धार्मिक परम्परा रहेको छ।
नवरात्रका अवसरमा दशैँ घर तथा पूजा कोठामा घटस्थापना गरी स्थापना गरिएको जमरासहित देवी दुर्गाको विशेष पूजा आराधना गरिन्छ। नौ दिनसम्म दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा पनि छ। देवीको आराधना गर्नाले शक्ति, ऐश्वर्य, विद्या तथा सुख–समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।

वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन्। नवरात्रका नौ दिन पूजा गरिएको प्रसादस्वरूप टीका र जमरा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। यसरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउँछन्।
यस वर्ष नवरात्रको पहिलो दिन असोज २५ गते दशैँ घर तथा पूजा कोठामा वैदिक विधिअनुसार घटस्थापना गरी जौको जमरा राखिएको थियो। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाताको पूजा गरिन्छ। त्यसैगरी छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने धार्मिक विधि रहेको छ। यी नौ देवीलाई सामूहिक रूपमा नवदुर्गा भनिन्छ।
शक्तिपीठमा भक्तजनको भीड


नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा बिहानैदेखि पूजा आराधना तथा दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरेको छ। राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा रहेका देवी मन्दिर तथा शक्तिपीठमा भक्तजनले श्रद्धापूर्वक पूजा आराधना गरिरहेका छन्।
नवरात्रका बेला शक्तिपीठमा गई देवीको पूजा, आराधना तथा दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने, पारिवारिक सुख–शान्ति कायम हुने र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास छ।
स्कन्दमातासम्बन्धी पौराणिक मान्यता
पौराणिक ग्रन्थहरूमा स्कन्दमातासम्बन्धी विभिन्न कथा वर्णन गरिएको पाइन्छ। धार्मिक मान्यताअनुसार स्कन्दमाता देवी पार्वतीको एक स्वरूप हुन्। भगवान् स्कन्द अर्थात् कार्तिकेयकी माता भएकाले पार्वतीलाई स्कन्दमाता भनिएको हो।
स्कन्दमाताको प्रतिमामा देवी सिंहासनमा विराजमान भएकी तथा हातमा कमलका फूल धारण गरेकी देखिन्छिन्। देवीको यो स्वरूपलाई मातृत्व, करुणा र शक्तिको प्रतीकका रूपमा लिने गरिन्छ।
छान्दोग्य उपनिषद्मा सनत्कुमारको उल्लेख पाइन्छ। धार्मिक व्याख्याअनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारलाई स्कन्द भनिएको र स्कन्दकी माता भएकाले देवी पार्वतीलाई स्कन्दमाता नामले पुकारिएको मान्यता छ।
नवरात्रमा स्कन्दमाताको पूजा आराधना गर्नाले भक्तजनलाई सुख, शान्ति, समृद्धि तथा सन्तानको कल्याण प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
