एसपिए लिटल फ्लावर प्राइड लिगको दशौँ संस्करण भोलिदेखि धनगढीमा, १५ टोली सहभागी

धनगढी- एसपिए लिटल फ्लावर प्राइड लिग (एलपिएल) को दशौँ संस्करणअन्तर्गत सिनियर टी–२० क्रिकेट प्रतियोगिता भोलिदेखि धनगढीमा सुरु हुने भएको छ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिका अध्यक्ष रामचन्द्र शाहीले बुधबार धनगढीको फाप्ला मैदानमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए।

Navadurga sun

पत्रकार सम्मेलनमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय खेलग्राम तथा पूर्वाधार विकास समितिका अध्यक्ष सुवास विक्रम शाहीले प्रतियोगिताको ट्रफी अनावरण गर्दै सफल आयोजनाका लागि शुभकामना व्यक्त गरे।

प्रतियोगितामा १५ टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’, ‘बी’ र ‘सी’ मा चार–चार टोली तथा समूह ‘डी’ मा तीन टोली रहेका छन्।

प्रतियोगिताको उद्घाटन असोज १५ गते बिहान फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टोलीले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

यस्तै, प्रतियोगितामा विधागत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ। प्रत्येक खेलका ‘म्यान अफ द म्याच’लाई नगद १ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

दशौँ संस्करणको एलपिएलमा प्रतिभावान युवा खेलाडीदेखि नेपाल प्रिमियर लिग (एनपीएल) खेलिसकेका खेलाडीसमेत सहभागी हुने आयोजकले जनाएको छ।

धनगढीको फाप्ला मैदानमा सञ्चालन हुने प्रतियोगिता असोज २१ गते समापन हुनेछ।

२०७३ सालदेखि सुरु भएको एलपिएलको यसपटक दशौँ संस्करण आयोजना हुन लागेको हो। दशौँ संस्करणलाई विशेष र यादगार बनाउन सम्पूर्ण खेलप्रेमीलाई मैदानमै पुगेर खेल अवलोकन गरी सहयोग गर्न प्रतियोगिताका संयोजक तथा लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स धनगढीका अध्यक्ष रामचन्द्र शाहीले आग्रह गरेका छन्।

प्रतियोगिताको टाइटल स्पोन्सरका रूपमा एसपिए कलेज रहेको छ भने ब्याम ब्याम, जुस जेली लगायतका संस्थाहरू पनि प्रायोजकका रूपमा जोडिएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...