कञ्चनपुरका ९२ वटै वडामा एमालेको सर्वसम्मत वडा कमिटी पदाधिकारी चयन




कञ्चनपुर,१३ कार्तिक– कञ्चनपुरको नौ वटा स्थानीय तहका ९२ वटै वडामा सर्वसम्मतरुपमा नेकपा (एमाले) को वडा कमिटीको पदाधिकारी चयन गरिएकाे छ।


शुक्रबार भएको अधिवेशनले सर्वसम्मत पदाधिकारी चयन गरिएको पार्टीका जिल्ला सचिव सुरेन्द्र विष्टले बताए। उनका अनुसार वडामा अध्यक्ष सहित उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित बढीमा ३१ सदस्यीय कमिटी चयन गर्न सकिने विधानमा व्यवस्था छ।




सोही प्रावधान अनुसार वडा अधिवेशनबाट नगर अधिवेशनका प्रतिनिधि पनि चयन गरिएका छन्। भीमदत्त नगरपालिकाका १९, दोधारा–चाँदनीका १०, बेदकोटका १०, शुक्लाफाँटाका १२, कृष्णपुरका ९, बेलौरीका १०, पुनर्वासका ११, लालझाडीका ६ र बेलडाँडीका ५ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ।

त्यसैगरी कृष्णपुर नगरपालिकाका ९ वटै वडामा वडा कमिटीका अध्यक्षहरु वडा नं.१ मा क.गोविन्द सिंह माल, वडा नं.२ मा क.कमल पाण्डेय, वडा नं.मा क.गङ्गा राम चौधरी, वडा नं.४ मा क.हरि बहादुर कार्की, वडा नं.५ मा क.नारायण दत्त वडु, वडा नं.६ मा क.भक्त बहादुर रावल, वडा नं.७ मा क.नरेश जोशी, वडा नं.८ मा क.देवी दत्त भट्ट र वडा नं.९ मा क.गणेश ऐर चयन भएका छन् ।
एमाले कञ्चनपुरमा १० हजारभन्दा बढी संगठित सदस्य रहेका छन्। कार्तिक ६ गतेका लागि तोकिएको वडा अधिवेशन बेमौसमी वर्षापछि आएको बाढी र डुबानका कारण स्थगित गरिएको थियो।



