अत्तरिया- सुदूरपश्चिमको मौलिक पर्व गौराको अवसरमा गोदावरी नगरपालिकाले एक दिन स्थानीय बिदा दिने भएको छ। नगरपालिकाले जारी गरेको सूचनाअनुसार २०८३ भदौ १८ गते बिहीबार गोदावरी नगरपालिका क्षेत्रभित्र स्थानीय बिदा दिइनेछ।
नगर कार्यपालिकाको १४४औँ बैठकको निर्णयअनुसार नगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा मातहतका कार्यालय र निकायहरूमा बिदा लागू हुने नगरपालिकाले जनाएको छ।

यस्तै, नगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण शैक्षिक संस्थासमेत बन्द रहनेछन्। तर अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुने जनाइएको छ।
गौरा पर्वको अवसरमा नगरपालिकाले सम्पूर्ण नगरवासीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेको छ।
