धनगढीमा भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ

धनगढी-  कैलालीको धनगढी उपमहानगरपालिका–१, एलएन चोकस्थित भित्री सडकखण्डबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका सामान तथा भारतीय गाडीसहित एक जनालाई पक्राउ गरेको छ।

शुक्रबार साँझ वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले भारतको पलिया डीएसएन कलौनी बस्ने ३५ वर्षीय अमित कुमार सक्सेनालाई पक्राउ गरेको हो।

Navadurga sun

प्रहरीका अनुसार सक्सेनाको साथबाट करिब १ लाख १० हजार रुपैयाँ मूल्य बराबरको पर्दा तथा १२ लाख रुपैयाँ मूल्य पर्ने यूपी ३१ सीबी २८२६ नम्बरको भारतीय गाडी बरामद गरिएको छ। बरामद सामान र गाडीसहितको कुल मूल्य करिब १३ लाख १० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

यसैबीच, कैलाली जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका अन्य सामानसमेत बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले २ लाख ४ हजार ६२० रुपैयाँ बराबरको बिडी, सुर्ती, पंखाका पाता, मटर, विभिन्न किसिमका कपडा, पानी तान्ने मोटर, किरानालगायतका सामान बरामद गरेको हो।

प्रहरीले बरामद सामानलाई आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको जनाएको छ। साथै, भन्सार छली तथा अवैध रूपमा सामान ओसारपसार गर्ने गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...