हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपासमा अवस्थित छ।
महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ।

आज बिहीबार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। मधेस प्रदेश तथा सुदूरपश्चिमको तराई क्षेत्रमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।
दिउँसो र राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षासँगै हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ।
यस्तै, मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थान तथा सुदूरपश्चिमको तराईका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
